सम्पादकीय: कामयावी योजनाको खाँचो
बजारमा खाद्यान्न र तरकारीको भाउ अचाक्ली बढेको छ । बजार भाउ नियन्त्रण गर्ने शक्ति नेपालभित्र छैन । अर्थात् हामी ठूलो परिणाममा खाद्यान्न, तरकारी, फलफूल आयात गरिरहेका छौं । अहिले देशमा राष्ट्रिय कृषि गणना चलिरहेको छ । यसअघि भएको राष्ट्रिय जनगणनामा पनि कृषिबारे केही प्रश्न समावेश थिए । राष्ट्रिय योजना आयोग अन्तर्गतको केन्द्रीय तथ्यांक विभागले विभिन्न समयमा गर्ने गणनाहरु तथ्यांकका आधिकारिक स्रोत हुन् । ठूलो धनराशि, समय र जनशक्ति खर्चेर हुने यस्ता गणनाका तथ्यांकबाट देशले खोजेका नीति, नियम, योजना बन्ने अपेक्षा गरिन्छ । तर त्यसो हुन सकेको छैन । पहिलो पञ्च वर्षीय योजनाबाट नै कृषि सधै प्राथमिकतामा छ । प्राथमकितामा रहेको कृषिको प्रगति, उत्पादन र कुल राष्ट्रिय उत्पादनमा योगदान भने निरन्तर ओरालो लागिरहेको छ ।
देशको परनिर्भरता बढ्दै जानु र राज्यको ठूलो लगानीबाट अपेक्षित उपलिब्ध नआउनका कारण खोज्न जरुरी छ । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधार बन्नुपर्ने कृषि अहिले संकटमा छ । जिडिपीमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी छ तर दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको देखिन्छ । यही तथ्यांकले हाम्रो कृषि व्यवसायिक र परिणाममुखी नभएको प्रमाणित हुन्छ । चालु आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत रहने प्रक्षेपण छ । पछिल्लो ९ महिनामा देशमा फलफूलबात्र करिब १२ अर्ब रुपैयाँको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कृषियोग्य जमिनमध्ये धेरै बाँझै छन् । बाँझा जमिनलाई उपयोगमा ल्याउन सके देशलाई कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर बनाउन योगदान पुग्छ । अर्बाैं रकम विदेशिनबाट जोगिन पनि सकिन्छ ।
अहिले पहाडका अधिकांश भूभाग बाँझा छन् । सडक पुगेका ठाउँमा खेतीयोग्य जमिन खडेरीमा परिणत भएका छन् । नेपालको कुल खेतीयोग्य जमिनमध्ये ७ प्रतिशत बाँझो छ । झण्डै ६० अर्बको खाद्यान्न हामी आयात गर्छाैं । आफ्ना उब्जाउशील जमिन बाँझै राखेर विदेशमा कमाएको रेमिट्यान्स खर्चेर हामी खाद्यान्न आयात गरिरहेका छौं । अर्थात् हामी उल्टो बाटो हिडिरहेका छौं । जीविका चलाउने खर्च विदेशमा कडा परिश्रम गरी कमाउँछौं तर त्यही पैसा फेरि विदेशै पठाउँछौं । यो चक्र नटुटेसम्म देशले समृद्धि हासिल गर्न सक्दैन । अहिले देशका ४० लाखभन्दा बढी युवा विदेशमा छन् । गाउँघरमा श्रमशक्तिको अभाव छ । अहिले देश स्थानीय तह निर्वाचनको संघारमा छ । देशलाई आत्मनिर्भर बनाएर स्वदेशमै रोजगारी र समृद्धिको खाका कोर्ने नेतृत्व देशका लागि जरुरी छ ।
तपाईको प्रतिक्रिया