सम्पादकीय: मतपत्र छपाइमा एकरुपता गर

समाधान संवाददाता २०७९ वैशाख १४ गते १२:०४

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको लागि निर्वाचन कार्यक्रम सञ्चालन गर्नु भन्दा पहिलादेखिनै मतपत्र छपाईको कार्य थालनी गर्‍यो । त्यस्तै आयोगले जती उम्मेद्वारको मनोनयन दर्ता हुन्छ, त्यसको आधारमा मतपत्रको डिजाइन गर्नु पर्ने हो । कति दलका कति उम्मेद्वारले मनोनयन दर्ता गर्छन, भन्ने एकिन नहुँदै मतपत्र छाप्ने तथा मतपत्रको डिजाइन गर्ने आयोगको काम विवादित बनेको छ । खास गरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा आम सञ्चार माध्यमले मतपत्रको छपाई तथा मतपत्रको डिजाइनको सवालमा आयोगले गरेको त्यस्तो कार्यमा उपर प्रश्न उठाएका छन् ।

Advertisement

त्यस्तै आयोगले आचारसंहितामा बहालवाला जनप्रतिनिधिले पहिल्यै राजीनामा दिनुपर्ने मापदण्ड बनायो । मतपत्रमा हुने दलहरूको चुनावी चिह्नको रङ बदल्ने काम आयोगले गरेको छ । आयोगले गरेका ति दुबै कार्यको जनस्तरबाट बारम्बार प्रश्न उठ्ने गरेको छ । प्रस्तुत सवाललाई केन्द्र विन्दुमा राखेर छलफल तथा सम्बाद गरी निश्कर्षमा पुग्न भन्दा पनि सार्वजनिक समारोहमा उठाउने, स्पष्टिकरण दिने, र बक्तव्यवाजी गर्ने काम मात्र भएको छ ।

सामान्यतया आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारको अन्तिम नामावली नामावली प्रकाशन गरेपछि मात्र मतपत्र छपाई गर्नु पर्ने हो । आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार २०७९ वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता र वैशाख १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नु पर्ने व्यवस्था छ । तर आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि छपाई गर्नु पर्ने मतपत्र मौजुदा पूर्वाधारको उपयोग, सुरक्षा संवेदनशीलता र ढुवानी व्यवस्थापन समेतलाई दृष्टिगत गरी छिट्टै मतपत्र छपाई गर्नु परेको तर्क पेश गरेको छ । सबै खालका निर्वाचन गर्ने जिम्मेवारी पाएको आयोग उठेका सवाललाई ठोस रुपमा सम्बोधन गर्नु भन्दा पनि आफ्नो कामलाई नियमित रुपमा अगाडी बढाएको छ ।

Advertisement

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन प्रचार प्रसारको लागि बढीमा १५ दिनको अवधी रहने गरी प्रकाशन गर्नु पर्ने व्यवस्था छ । तर आयोगले जिल्ला तहमा संरचना भएको राजनीतिक दलको निर्वाचन चिन्ह् र तत्पश्चात स्वतन्त्र निर्वाचन चिन्ह् राखेर २३ समूहका ७७ प्रकारका (६ वटा महानगर वाहेक) को मतपत्र डिजाइन स्वीकृत गरी २०७८ चैत २२ गतेदेखि नै जिल्लागत रुपमा मतपत्र छपाइ कार्य गरेको छ । आयोगले निर्वाचन कार्यक्रम सञ्चालन पश्चात के कति उम्मेद्वारको मनोनयन दर्ता हुन्छ र सो को आधारमा मतपत्र डिजाइन गर्ने गरी ६ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्रको छपाई कार्य बाँकी राखेको छ ।

६ महानगरपालिका तथा भक्तपुरका ४ पालिकाको मतपत्र अन्य पालिकाको भन्दा भिन्न प्रकृतिको हुने देखिन्छ । भने उम्मेद्वारी परेको दलको वाहेक अन्य उम्मेद्वारको निर्वाचन चिन्ह हटाएर मतपत्र छपाई गर्दा निश्चित दलको बिरुद्धका गठबन्धन गरेका दलहरुको लागि प्रत्यक्ष फाइदा पुग्ने आंकलन गर्न सकिन्छ । त्यसैले आयोगले एकरुपता दिएर मतपत्र छपाई गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया