सम्पादकीय : उम्मेदवारको उत्साह

समाधान संवाददाता २०७९ वैशाख १५ गते १५:५८

संघीयतापछि देश दोस्रो स्थानीय तह निर्वाचनमा होमिएको छ । यो चुनावमा उम्मेदवारी दर्ता गराउन देखिएको उत्साह लोकतन्त्रप्रतिको समर्थन हो । देशका ७ सय ५३ स्थानीय तहका ३५ हजारभन्दा बढी पदमा १ लाख ३६ हजार बढीले उमेदवारी दर्ता गराएका छन् । दलबीचकै प्रतिश्पर्धा र गठबन्धनको हिसाबकिताब मिलाउँदा ढिलो भएपछि दोस्रो दिनमात्र अधिकांशले उम्मेदवारी दर्ता गरे । निर्वाचन आयोगले २ दिन मनोनयन दर्ताका लागि छुट्याए पहिलो दिन खासै उम्मेदवारी परेन । स्थानीय निकायहरु अहिले स्थानीय तह अर्थात् स्थानीय सरकार बनेका छन् । सरकार भएपछि त्यहाँ कार्यकारी अधिकार, बजेट र शक्ति हुने नै भयो । यही कारणले पनि स्थानीय तहमा धेरैको आकर्षण देखिएको छ । प्रदेश सभा सदस्यहरूले राजीनामा गरी स्थानीय तहमा उम्मेदवारी दिएका छन् ।

Advertisement

लोकतन्त्रमा निर्वाचन सुन्दर पक्ष हो । दलहरु आन्तरिक प्रतिश्पर्धा गर्दै अहिले अर्काे दलसँग प्रतिश्पर्धा गर्ने तयारीमा छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी भए पनि उम्मेदवारको टुंगो लागेपछि दलहरु चुनावी अभियानमा होमिइसकेका छन् । व्यवस्थाकै विरोध गर्नेहरूदेखि कुनै बेला राष्ट्रिय अखण्डतामा प्रश्न उठाउने समूहसम्मले उम्मेदवारी दिएका छन् । सिके राउतदेखि विप्लव नेतृत्वको नेकपाले पनि उम्मेदवारहरु उठाएको छ । लोकतन्त्रका पक्षधरका लागि यो उल्लेखनीय विषय हो । अघिल्लो पुस्तादेखि युवा पुस्तासम्म उम्मेदवार बनेका छन् । यो उत्साहसँगै चिन्ताको विषय पनि सतहमा आएको छ । प्रमुख राजनीतिक दलका कार्यकर्तामा देखिएको असहिष्णु व्यवहार र उद्दण्डता चिन्ताको विषय हो । यो निन्दनीय पनि छ ।

कतै कतै उम्मेदवारको मनोनयन हेरफेरमा आयोगकै कर्मचारी संलग्न भएको पनि गुनासो आएको छ । यसो हुनु चिन्ताको विषय हो । दलहरुले योगदान, आवश्यकताका आधारमा भन्दा निकटता, स्वार्थ र गुटका आधारमा उम्मेदवार चयन गरेको गुनासो निकै सुनिएको छ । रातारात टिकट परिवर्तन भएको देखिएको छ । सबैजसो मुख्य दलले वागीको सामना गर्नुपरेको छ । गठबन्धन निर्माणमा सत्तारुढ र विपक्षी दलहरुले प्रयास गरिरहेकै छन् । दलका नेताहरूलाई कसरी धेरै स्थानमा जित्ने भन्ने चिन्ता हुनु स्वाभाविकै हो । तर जित्नकै लागि साम, दाम, दण्ड, भेद जुनसुकै उपाय भित्रभित्रै अपनाउने खतरा पनि रहन्छ । यसमा जनताको खबरदारी जरुरी छ । गाउँको सिंहदरबारको नेतृत्व चुन्न दलहरुले नैतिकवान्, योग्य, क्षमतावान् र स्वच्छका उम्मेदवारअघि सार्नुपर्नेमा त्यसो हुन सकेको देखिएन । चुनावमा देखिएको उत्साह परिणाम सार्वजनिक भएपछि पनि जारी रहनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया