कागबेनी मोडमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना यात्रु गम्भिर घाईते

सुन्दरकुमार थकाली २०७९ वैशाख १५ गते १९:३९
फोटो क्याप्सन ः मुस्ताङको कागबेनीमा बस दुर्घटना । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम,

Advertisement

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोम तर्फ फर्किदै गरेको बसले कागबेनी झदै गरेको ग ७ प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिदाँ बस अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको थियो ।बसको ठक्करबाट वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले बिराट महानगरपालिकादेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि आएको तिर्थालु सवार बस कागबेनीको दोश्रो मोडमा दुर्घटना भएको जानकारी दिए । बस दुर्घटनमा ५८ वर्षीय कमला तिमिल्सिना,६५ वर्षीय कुलबहादुर कुवर,४० वर्षीय बिष्णुमाया न्यौपाने,७३ वर्षीय दुर्गा नेपाल ,६८ वर्षीय ईन्दिरा न्यौपाने, ४५ वर्षीय पार्वती तिमिल्सिना,३५ वर्षीय सरस्वती नेपाल ,११ वर्षीय दिलसा पौडेल,६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीय धर्मशिला खनाल,६० वर्षीय उषा कोईराला र ३५ वर्षीय सुनिता तिमिल्सना गम्भिर घाईते भएको जिप्रका मुस्ताङका सूचना अधिकारी आचार्यले उल्लेख गरे ।मुक्तिनाथ दर्शन गरी फर्किएको बसमा सवार ३५ जना यात्रु मध्ये १४ जना सामान्य घाईते भएका छन् ।
तिर्थ यात्री सवार उक्त बसले बिराट महानगरपालिका , बुढी गंगा गाउँपालिका र वेलबारी नगरपालिकाका ३५ यात्रुले लिएर मुस्ताङ आएको थियो । बस दुर्घटनापछि प्रहरी चौकी कागबेनी र जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाईते भएका यात्रुलाई मुस्ताङ जिल्ला अस्पतालमा पू¥याईएको छ ।प्रहरीले घटना स्थलको चार किल्ला र दुर्घटना सम्वन्धि विवरण संकलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।तीर्थ यात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस दुर्घटना परी घाईते भएका तिर्थ यात्रीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अस्पताल पुगेका थिए । प्रजिअ शर्माले दुर्घटना बारे मन्त्रालयलाई जानकारी गराईएको र थप उपाचारका लागि पोखरा लैजान परे आवश्यक पहल गर्ने बताए ।
यसअघि कागबेनी मुक्तिनाथ सडकको कागबेनी मोडमा दुई पटक बस दुर्घटना भएको थियो । सो स्थान दुर्घटनाग्रष्तक्षेत्रको रुपमा लिईन्छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया