भिजनसहित आएको छु, जित्छुः महेन्द्र

पोखरा l
भूगोलमा कास्कीकै ठूलो पालिका हो, मादी गाउँपालिका । मादीको नेतृत्व गर्न नेकपा (एमाले)बाट युवा नेता शिवबहादुर गुरुङ (महेन्द्र) चुनावी प्रचारप्रसारमा जुटेका छन् । पोखरा बस्ने मादी गाउँपालिकाका मतदाताबीच एमालेबाट उम्मेद्वार बनेकाको परिचयात्मक कार्यक्रम बिहीबार गरिएको छ ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको विशेष उपस्थितिमा पोखरामा बस्ने मादी गाउँलेबीच अध्यक्ष, उपाध्यक्ष, १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारको परिचयात्मक कार्यक्रम गरियो । मादी गाउँपालिकामा एमालेबाट प्रमुखमा महेन्द्र र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार छन् । उम्मेद्वार गुरुङले पछिल्लो ५ वर्षमा एमाले नेतृत्वको पालिका सरकारले प्रशंसा लायक काम गरेकाले गाउँबासीले फेरि एमाले रोज्ने दाबी गरे । पर्यटन, कृषि क्षेत्र विकास, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याएर मादीको विकासमा सक्रिय हुने गुरुङले बताए ।
मादीको पदयात्रा पर्यटनमा थप विकासका योजना ल्याउने उनले सुनाए । आफूसँग भिजन भएका नेतृत्वको एमालेको टिमबाटै मादीमा विकास निर्माण सम्भव भएको गुरुङको जिकिर छ । ‘एमाले नै विकास निर्माण गर्ने पार्टी हो भन्ने बनाउनअघि बढेका छौँ,’ गुरुङले भने ।
गाउँमा एमालेको लहर देखेर गठबन्धन कमजोर भइसकेको अध्यक्षका उम्मेद्वार गुरुङको टिप्पणी छ । नेकपा (एमाले)बाट मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन् । मादीमा शुक्रबारदेखि घरदैलो कार्यक्रम गर्ने एमालेको तयारी छ ।
तपाईको प्रतिक्रिया