गठबन्धन सरकार जनतामारा सरकार हो – केन्द्रीय  सदस्य कार्की  

समाधान संवाददाता २०७९ वैशाख १७ गते ९:४४

पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज भीम कार्कीले शेरबहादुर नेतृत्वको वर्तमान  गठबन्धन सरकार जनतामारा सरकार भएको आरोप लगाएका छन् । कार्कीले नेकपा एमाले प्रचार विभागले गरेको स्थानीय तह निर्वाचन केन्द्रित फेसबुक लाइभ कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।

उनले दिन दिनै इन्धनको मूल्यसँगै महँगी बढाएर देउवा सरकारले जनताको ढाड सेक्ने काम मात्रै गरेको भन्दै सामान्य सरकार सञ्चालनको अभिभारा समेत पूरा गर्न नसक्ने सरकारका सहयात्री दलहरु एमालेको लोकप्रियतादेखि आत्तिएर अनेकन भ्रम सृजना गर्न ब्यस्त रहेको बताए ।  


केपी ओली नेतृत्व सरकारमा भूमि आयोगका प्रवक्ता समेत रहेका कार्कीले जग्गा पाउनै लागेका १७ लाख अव्यवस्थित तथा सुकुम्बासीलाई यो सरकारले फेरि भूमिहीन बनाएको बताए। ‘भूमिहीनलाई जग्गा दिने अन्तिम तयारी गर्दै थियौं, तर ओली सरकारको निर्णय यो सरकारले हतासमा रोक्दै आयोगलाई विघटन गरी आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनायो,’ उनले बताए ।
यसपटकको निर्वाचनमा कास्कीका पाँचै पालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुख दुवै पदमा बाजी मार्ने दाबी गरे । त्यस्तै सबै पालिकाका दुई तिहाई भन्दा बढी वडामा जित सुनिश्चित भइसकेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया