वागी उम्मेदवार विमल भन्छन्–कारबाही भोग्न तयार छु

सञ्जय रानाभाट २०७९ वैशाख १७ गते १५:३३

पोखरा ।
पोखरा महानगर पालिकाका वडाध्यक्षमा सत्तारुढ पार्टीबीचको गठबन्धनको प्रयास असफल भएको छ । वडा भागबण्डामा दलहरुबीच स्थानीय तहमा सहमति हुन नसक्दा गठबन्धनको प्रयास असफल भएको हो । सबै वडामा गठबन्धनका उम्मेदवारले दिएको उम्मेदवारी कायमै छ ।


पोखरा महानगरको वडाध्यक्षको टिकट पार्टीको केन्द्रले नै हस्ताक्षर गरेर दिएकाले गण्डकी प्रदेश कमिटीले फिर्ता गराउन नमिलेको नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले समाधानलाई बताए । उम्मेदवारी फिर्ता लिने समय शुक्रबार साँझ ५ बजेसम्म कांग्रेस केन्द्रले मनोनयन फिर्ताको पत्र पठाएको थिएन ।


पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले केन्द्रबाट साँझसम्म उम्मेदवारी फिर्ताबारेमा पत्र आएको आफूले थाहा नपाएको समाधानलाई बताएका छन् । स्थानीय तहमा गरिएको भागबण्डामा २० वडा कांग्रेस, ८ वडा माओवादी केन्द्र र ४ वटा वडा नेकपा एसलाई परेको थियो । नेकपा एस र माओवादीको भागमा परेका वडामा कांग्रेसका कार्यकर्ता आन्दोलित भएका थिए । उम्मेदवारी फिर्ताको समय सकिएको हुँदा सबै वडामा कांग्रेसको उम्मेदवारी कायमै भएको छ । माओवादी र एसले दिएको उम्मेदवारी पनि कायमै भएको छ ।

Advertisement


मेयर र उपमेयरमा भने भागबण्डा अनुसार नै भएको छ । मेयरमा नेकपा एसबाट धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ । यद्यपि मेयरमा कांग्रेसका विमल कार्कीको बागी उम्मेदवारी कायमै छ । पोखरा महानगरमा गठबन्धनको विरोध गर्दै मेयरमा वागी उम्मेदवारी दिएका कांग्रेस नेता विमल कार्कीले आफ्नो उम्मेदवारी कायम राखेका हुन् ।


कांग्रेसका पूर्व कास्की सचिव नन्द तिवारी र कास्कीका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले भने शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले मेयर उम्मेदवार कांग्रेसले नपाएको भन्दै मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसले शुक्रबार बिहानै निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तिवारी र सापकोटाले निर्देशनको पालना गर्दै मनोनयन फिर्ता गरेका हुन् ।

Advertisement


तर, विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएनन् । ‘कांग्रेसको म विद्रोही उम्मेवार हो । स्वतन्त्र तरिकाले चुनाव चिह्न लिएर निर्वाचनमा जान्छु,’ उनले भने, ‘कांग्रेस र पोखरेलीले अब भोट दिएर मलाई न्याय दिन्छन् ।’ उम्मेदवारी फिर्ताको अन्तिम समयसम्म पनि उनले आफ्नो उम्मेदवारी कायम गरेका हुन् । कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति कार्की आफूले विद्रोही भएर स्वतन्त्र रुपमा चुनावमा होमिने बताएका छन् । ‘कांग्रेसले कांग्रेसलाई भोट हाल्न नपाउने अवस्था आयो,’ उनले भने, ‘म कांग्रेस हुँ । कांग्रेसले कार्यकर्तालाई गरेको अन्याय हेर्न सकिन यस कारण मेरो उम्मेदवार कायम राखे ।’
शेरबहादुर देउवाले पार्टी एकलौटी ढंगले चलाएकाले कांग्रेसले रुख चिह्नमा भोट हाल्न नपाएको उनको आरोप छ ।

‘शेरबहादुरजीले योभन्दा अघिल्लो चुनावमा गोरखामा गएर आँखामा भोट हाल भन्नुभयो, मकवानपुरमा गाई चिह्नमा भोट हाल लगाउनुभयो, चितवनमा हसिँया हतौडामा लगाउनुभयो,’ उनले भने, ‘पार्टीले कारबाही गरे पनि गरोस् । कारबाही भोग्न तयार छु । तर, मलाई भन्दा पहिला शेरबहादुर देउवालाई कारवाही हुनुपर्छ ।’ कार्कीले केन्द्रीय नेता गुरु बराल र पूर्णबहादुर खड्काले बारम्बार फोन गरेर फिर्ता दिन भने पनि आफूले चुनावमा जाने निर्णय गरेको बताएका हुन् ।


नेतृत्वले गलत गर्दा आफू हेरेर बस्न नसकेकाले विद्रोही बन्नुपरेको उनको भनाइ छ । ‘कांग्रेस पार्टी शेरबहादुर देउवा र रामचन्द्र पौडेलले बनाएका हैन । म जन्मजात नेपाली कांग्रेस हो । पार्टीको सिद्धान्त र कांग्रेसलाई नै भोट हाल्छु । म डराउने पक्षमा छैन,’ उनले भने ।


उम्मेदवारी फिर्ता गर्ने दिन शुक्रबार पोखरामा विभिन्न पदका झन्डै डेढ सय जना उम्मेदवारले मनोनयन फिर्ता गरेको भन्ने भए पनि तिनीहरुको नाम निर्वाचन अधिकृतको कार्यालय राति अबेरसम्म सार्वजनिक गर्न सकेको थिएन ।


माछापुच्छ्रे मा एमालेका वागी पछि हटे


माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट बागी उम्मेदवारी दिएका युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


गत वैशाख १२ गते गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जिसीले शुक्रबार लाहाचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएपछि उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न आफ्नो पार्टी एमालेका उम्मेदवारलाई विजयी गराउन लागिपर्ने प्रतिवद्धता गरे ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया