एमालेले सार्वजनिक गर्यो पोखराको आगामी पाँच वर्षको कार्ययोजना (घाेषणा पत्र सहित)
सञ्जय रानाभाट
पोखरा ।
पोखरा महानगरपालिकामा नेकपा एमाललेले मोनो र मेट्रो रेल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । नेकपा एमालेको महानगर कमिटीले शनिबार ५ वर्षको कार्ययोजना सार्वजनिक गर्दै मोनो, मेट्रो रेलदेखि साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज बनाउने प्रतिबद्धता जनाएको हो । एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरु पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी सहितका नेताहरुको उपस्थितिमा ५ वर्षीय कार्ययोजना सार्वजनिक गरेको हो । पाँच वर्षीय योजना २० पृष्ठमा समेटिएको छ ।
पोखरा महानगरको नेतृत्वमा एमालेबाट मेयरमा कृष्णबहादुर थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदानमा छन् । उम्मेदवारहरुको प्रतिबद्धतापत्र भनेर सार्वजनिक घोषणापत्रमा पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल तथा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिने उल्लेख छ ।
अव्यवस्थित पार्किङलाई आउँदो कार्यकालमा व्यवस्थित बनाउने एमालेको घोषणा छ । बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।
पोखराका चोक चोकमा सिसी क्यामरा जडान गरी मुख्य सहरी क्षेत्रभित्रका टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गरिने घोषणा एमालेले गरेको छ । बिजुलीका तारलाई अन्डर ग्राउन्डेड गरी महानगरलाई व्यवस्थित गरेर पोखरा ३२ को लामेआहालबाट पोखरा ३३ को बाघमारा दोबिल्ला हँुदै बिरौटासम्मको वैकल्पिक मार्ग खोल्ने कार्ययोजनामा उल्लेख छ । ‘प्राथमिकतामा राखी लामगादी, पटनेरी, रिठेपानी, भेडीफारम, ढुंगेसाँघु, जोड्ने सडकलाई गौरवको आयोजना मार्फत निर्माण गर्छाैं,’ घोषणापत्रमा छ ।
पोखरा महानगरभित्र प्रदूषण न्यूनीकरण गर्न विद्युतीय सवारीलाई प्रथामिकता दिई पोखराका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन राख्ने योजना एमालेले सार्वजनिक गरेको छ । सहरी पूर्वाधारयुक्त नमुना बस्ती विकास एमालेको घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख छ । एकीकृत बस्ती विकास कार्यक्रमद्वारा सुकुम्बासी र अव्यवस्थित बस्तीहरुलाई आवश्यक सुविधासहित एक परिवार, एक घर कार्यक्रम गरिने एमाले घोषणापत्रमा छ । महानगरवासीको सहज आवागमनका लागि सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरपर्दो, डिजिटल प्रविधिमार्फत भाडा तिर्ने गरी व्यवस्था मिलाइने बताइएको हो ।
सेती नदी, विजयपुर, काली, फिर्के, बुलौंदी, खुदी, सुरौंदी, फुर्से, हर्पन, कोत्रे, याम्दी खोला, मर्दी, काहुँ खोला, खहरे खोला, भोटीखोला, बहुला खोला (खाडी खोला), स्याङखुदी आदिको जलाधार क्षेत्रको संरक्षण गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।
‘पोखरा उपत्यका वरिपरिका डाँडामा सुविधायुक्त पदयात्रा मार्ग निर्माण गरी ग्रामीण पर्यटन गतिविधि बढाउन साथै महानगरभित्रका फेवा, बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्यूरेनी, कमलपोखरी लगायत सबै ताल एवं जलाधार क्षेत्रहरुको एकीकृत विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु सञ्चालन गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘महानगरभित्रको सवारी पार्किङलाई व्यवस्थित गर्दै निशुल्क पार्किङ गर्ने कार्ययोजनामा छ । सहरका मुख्य भागमा पार्किङ सुविधा सहितका सुपरमार्केट र मल सञ्चालनलाई प्रोत्साहन गरिनेछ ।’
महानगरभित्रका खेतीयोग्य जमिनलाई चक्लाबन्दी गरी तथा बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादनका पकेट क्षेत्र घोषणा गर्ने र कृषि उत्पादन बढाउन आवश्यक पहल गरिने साथै कृषि कर्जालार्ई सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था प्रतिबद्धता एमालेले जनाएको छ ।
‘महानगरभित्रका खेतीयोग्य जमिनलाई बाँझो नराख्नका लागि भूमि बैंकको स्थापना एवं प्रभावकारी सञ्चालनमा गर्ने महानगरभित्रका बालबच्चालाई अनिवार्य आधारभूत शिक्षाको व्यवस्था गरिनुका साथै सबै बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा उपलब्ध गराई शतप्रतिशत साक्षर महानगर बनाइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘महानगरभित्रका सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै समयानुकूल पाठ्यक्रम तथा दक्ष जनशक्ति व्यवस्थापन गरी अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गर्ने व्यवस्था मिलाइनेछ ।’
आधारभूत स्वास्थ्यका लागि प्रत्येक वडामा एम्बुलेन्स सेवासहितको स्वास्थ केन्द्र स्थापना गरी ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका, अशक्त र गर्भवती महिलाका लागि निशुल्क स्वास्थ्य सेवा साथ गर्भवती महिलालाई पौष्टिक आहारका प्रदान गर्ने एमालेको प्रतिबद्धता छ ।
५ वर्षभित्र आफ्नै टिभी÷एफएम सञ्चालन गर्ने योजना पनि एमालेले समेटेको छ । ‘हाम्रो महानगर मुखपत्र प्रकाशन कार्यलाई निरन्तरता दिइनेछ । महानगरमार्फत एफएम र टेलिभिजन कार्यक्रमको उत्पादन र प्रसारणको गरिनुका साथै वडाहरुमा सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा प्रदान गछौं,’ घोषणापत्रमा उल्लेख छ ।
पोखरा २८ को अर्घौं कालिका मन्दिर, ठूलाकोट धार्मिक क्षेत्र, पोखराको पुरानो बजार भनेर चिनिएको रामकृष्ण टोल, भैरव टोल, विन्ध्यवासिनी क्षेत्र, भद्रकाली र बौद्ध गुम्बा, भलामको हरिहर गुफा, कृस्तीको शिवढुंगा, आर्वाको महाप्रभुधाम, खुदीस्थित सीता गुफा लगायत ओझेलमा परेका स्थानलाई पोखराको पर्यटन बजारसँग जोड्ने योजनामा छ ।
महानगरमा पर्यटन प्रवद्र्धनका लागि होटेल, रेस्टुरेन्ट, होमस्टे सञ्चालन गर्न प्रोत्साहन गर्ने, रोयल ट्रयाक लगायतका पदमार्ग, पर्यटक गाइड, पर्यटक सूचना केन्द्र, पर्यटनको विकासको लागि सम्बन्धित संस्था र निजी क्षेत्रसँग सहकार्य गर्ने एमालेको योजना छ । पोखरालाई पर्यटनको सहर बनाउन प्याराग्लाइडिङ, बन्जी जम्प, कायाकिङ, जिप फ्लायर, केबलकार लगायतका पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्रसँग गरेरअघि बढ्ने कार्ययोजना एमालेको छ ।
पोखरा महानगरमा अनुसन्धान केन्द्र स्थापना गरी खगोल विज्ञान, प्राकृतिक विज्ञान र सामाजिक विज्ञानका विविध विषयवस्तुको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाइने योजना एमालेले अघि सारेको छ । महानगरको नेतृत्वमा ‘जनतासँग हँसिलो अनुहार, मीठो बोली’ ‘सेवा प्रवाहमा चुस्तता, आचरणमा शुद्धता र पारदर्शिता नाराका साथ काम गर्ने एमालेले घोषणापत्रमा लेखेको छ । महानगर नेतृत्वले सुशासनका लागि आर्थिक पारदर्शिता भन्ने नीति कार्यान्वयन गर्न उम्मेदवारहरुले आवधिक रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता एमालेको छ ।
महानगरपालिकाको कार्यालयबाट सेवाग्राहीलाई पु¥याइने सेवालाई छिटो, छरितो र सरल बनाउनका लागि सबै वडा कार्यालयलाई महानगरपालिकासँग हाइस्पिड इन्टरनेटबाट नेट–वर्किङ गरी पेपर लेस, ई–गभर्नेन्सको थालनी गर्ने घोषणापत्रमा उल्लेख छ । ‘स्थानीय सरकारबाट प्रदान गरिने सेवालाई जनउत्तरदायीत्वपूर्ण बनाउँछौं । नागरिक बडापत्र, हेल्प डेस्क, नागरिक भेला, सार्वजनिक सुनवाइ, अनुगमन संयन्त्र र कार्यप्रणालीलाई पारदर्शी बनाउँदै महानगरको वेबसाइटमा राखिने घोषणापत्रमा उल्लेख छ ।
महानगरमा स्थापित इजलासलाई नमुना बनाई न्यायलाई प्रभावकारी र सर्वसुलभ बनाउने एमालेको प्रतिबद्धता छ । आफूले महानगर नेतृत्व सम्हालेको २ वर्षभित्र घरजग्गा धनी पुर्जा अद्यावधिक गर्ने र वितरण कार्यलाई सुलभ व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । ‘सुकुम्बासी आयोगबाट वितरीत सेतो पुर्जालाई रातो पुर्जामा परिणत गर्न संघीय सरकारसँग तत्काल आवश्यक संयोजन गरिने साथै जग्गा धनी पुर्जा र घर नम्बरलाई मिलान गरी भौगोलिक सूचना प्रणालीमा आधारित अद्यावधिक गरिने,’ घोषणापत्रमा उल्लेख छ ।
महानगरले प्रत्येक वर्षको वैशाख १ गतेका दिन महानगरको सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई ‘महानगर माता’ र ‘महानगर पिता’ का रुपमा सम्मान प्रदान गरिने घोषणापत्रमा उल्लेख छ । वातावरणलाई स्वच्छ राख्दै फेवाताल, बेगनासताल, रुपाताल लगायत जलाशयहरुमा वाटर फाउन्टेन, फुट टे«ल र विश्राम स्थल बनाइने एमालेको घोषणा छ ।
महानगर विकास प्राधिकरणमार्फत महानगरभित्र रहेका सेती, काली, विजयपुर, कोत्रे काहुँखोला तथा फुस्रे आदि नदी तथा खोलामा रहेका गिटी, ढुंगा, बालुवा, बेसमाटो आदिको उत्पादन, उल्खनन र संरक्षणका गरी विशेष व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ
सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया