माछापुच्छ्रेका कांग्रेस उम्मेदवार गुरुङ भन्छन्: महत्वाकांक्षी योजनामा समय फाल्दिन

समाधान संवाददाता २०७९ वैशाख १७ गते २०:०६

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले मीनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मीनबहादुर पालिकावासीमाझ समाजसेवीका रुपमा पनि परिचित छन् ।

Advertisement


कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गरिसकेका उनले गाउँपालिकामा भूगोल अनुरुपको विकास र समृद्धि ल्याउने सुनाए । भन्छन्, ‘महत्वाकांक्षी योजनामा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभूत गर्ने र कार्यकालमा सक्ने योजना छन् ।’


शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उनले सुनाए । शिक्षा नै सर्वाेपरी भएको जनाउँदै उनले भने, ‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नति गर्ने योजना बनाएका छौँ । अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टु तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’ माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उनले जनाए ।

Advertisement


गाउँपालिकामा ६० वर्ष माथिका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निशुल्क गर्ने उनको योजना छ । ४० वर्ष माथिकालाई प्रत्येक ६ महिनामा निशुल्क मधुमेह परीक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।


माछापुच्छ्रे गाउँपालिका कृषिका लागि उर्वर भूमि हो । पालिकावासीलाई कृषिमा आकर्षण गर्नेगरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मीनबहादुरको योजना छ । कृषिलाई थप आधुनीकिकरण गर्दै एग्रो टुरिज्मको अवधारणा अघि बढाइने उनले बताए ।

Advertisement


नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका वर्तमान उपसभापतिसमेत रहेका मीनबहादुरले पालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई थप उचाइमा पुर्‍याउन विविध योजना तयार रहेको जनाए । ‘पर्यटनको प्रचूर सम्भावना हुँदाहुँदै पनि यहाँ केही हुन सकिरहेको छैन । ठोस कार्ययोजना बन्न सकेन । हामी ठोस व्यवहारिक योजनासहित अघि बढ्छौँ’, उनले सुनाए ।


माछापुच्छ«े नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने गरी विकास गर्ने उनको योजना छ । भन्छन्, ‘अझै पनि माछापुच्छ«े नमुना पैदल मार्गको प्रचारप्रसार अभाव छ । हामीले माछापुच्छ«े र मार्दी पदयात्रालाई जोड्यौँ भने पर्यटकको बसाई लम्बिनेमा दुई मत छैन । त्यति मात्र होइन, क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ लगायतका साहसिक पर्यटकीय गतिविधिलाई पनि थप चलायमान बनाइनेछ ।’


पर्यटनसँगै जोडिएको होमस्टे लाई थप प्रवद्र्धन र प्रचारप्रसार गर्दै स्थानिय उत्पादन खपत हुनेगरी कार्ययोजना अघि बढाउने उनको भनाइ छ । पर्वतारोहण पारखीको ध्यान केन्द्रित हुनेगरी अन्तर्राष्ट्रिय स्तरको ‘पर्वतारोहण अध्ययन केन्द्र’ सञ्चालनमा ल्याउने उनको दाबी छ । मार्दी हिमाल ट्रेकका व्यवसायीका लागि गाउँपालिकाले अभिभावकत्व लिँदै थप व्यवस्थित त संरक्षण गर्ने आफ्नो योजना रहेको मीनबहादुरले सुनाए ।


उनले ग्रामीण सडक स्तरोन्नति गर्दै आवश्यक क्षेत्रहरुमा नयाँ ट्रयाक खोलिने उल्लेख गरे । पालिकाका सबै क्षेत्रलाई सडक सम्पर्कमा ल्याउने उनको योजना छ ।


माछापुच्छ«े गाउँपालिकामा रहेका बालुवा, गिट्टी, ढुंगा लगायतका खानीहरुलाई नीति अनुरुप कडाई एवं व्यवस्थित गरिने उनको भनाई छ । खानेपानीका लागि तत्काल कार्यान्वयनमा लैजाने गरी विविध योजना तयार गरिएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया