निर्धन उत्थानले बदल्यो जीवन

समाधान संवाददाता २०७९ वैशाख १७ गते २०:२४

पोखरा ।
स्याङ्जाको वालिङकी चेतकान्ती काफ्लेको २०५१ सालमा बिहे भएको थियो । दाम्पत्य जीवन सुखमय चल्दै थियो । २ केटाकेटी भएका थिए । तर ०६१ सालमा ठूलो वज्रपात आइलाग्यो । जीवनसाथी यो संसारबाट बिदा भए । कसो गरी जीवन अगाडि बढाउने भन्ने केही मेसोमेलो पाइनन् । घरबाटै पनि हेलाँहोचो हुन थाल्यो ।


२ सासू थिए । नन्दअमाजूसहित १० जनाको परिवार । चेतकान्तीहरु भने छुट्टाभिन्ना भइसकेका । बिहान बेलुकाकै छाक टार्न मुस्किल भयो । भन्छिन्, ‘अर्काकै जग्गामा टिनको छाप्रो हालेर बसें ।’ त्यति बेला साथमा २ हजार रुपैयाँ पनि नभएको उनी सुनाउँछिन् । ‘कसैसँग माग्न जाँदा पनि तेरो लोग्ने पनि छैन, तँले कसरी तिर्छेस् भनेर वचन लाउँथे,’ काफ्ले ती दिन सम्झन्छिन् ।
गाउँघरका कसैले २ हजार नपत्याउने चेतकान्तीले २०६४ सालमा २० हजार रुपैयाँ ऋण लिइन् । बिनाधितो उनलाई ऋण पत्याएको थियो निर्धन बैंकले । निर्धन बैंक भने पनि त्यो संस्थाको खास नाम निर्धन उत्थान लघुवित्त वित्तीय संस्था हो । चेतकान्तीले गाउँकै दिदीबहिनीको एउटा समूह बनाएकी थिइन् । समूह जमानीमा निर्धनले ऋण दिएको थियो । ऋण लिएर चेतकान्तीले पसल सुरु गरिन् ।


पसल विस्तारै चल्दै गयो । किस्ता बुझाउँदै गइन् । पसल चल्न थालेपछि ऋणको मात्रा बढाइन् । लाख नै लिनसक्ने भइन् । समय बित्दै जाँदा पसलबाट आर्जन हुन थाल्यो निर्धन बैंकको पनि विश्वास कमाइन् अनि ५० हजार, त्यसपछि ३ लाख रुपैयाँसम्म बिनाधितै ऋण पाइन् । अहिले त धितै राखेर चेतकान्तीले निर्धन उत्थानबाट ७ लाख रुपैयाँ ऋण लिएकी छन् । उनको २ तले घर ठडिइसकेको छ । छोरी र छोरालाई हुर्काइन्, बढाइन्, पढाइन् । छोरी ब्याचलर पढ्छिन् । छोराले भर्खर एसइई दिए ।
आफ्ना संघर्षका कथा सुनाउँदा चेतकान्तीका गला अवरुद्ध हुन्छन् । आँखा टिल्पिलाउँछन् । तर अचेल चेतकान्तको अनुहासर कान्तीमय छ । उज्यालो छ । हँसमुख छिन् उनी । हुन पनि निर्धनसँग भेट नभएको भए कान्तीको अनुहारमा कान्ती छाउन सम्भव हुन्थ्यो, हुन्थेन यसै भन्न सकिन्न ।

Advertisement


पोखरा १४ मसिनाकी गौरी गुरुङ दुई जना मान्छेका अघि पनि बोल्न नसक्ने अवस्थाबाट यहाँ आइपुगेको सुनाउँछिन् । ‘६४ सालमा निर्धनका सर, मिसहरु आउनुभयो, तरकारी खेती गर्न, पशुपालन गर्न सिकाउनुभयो,’ उनी भन्छिन्, ‘अहिले धेरै दिदीबहिनीको जीवन फेरिएको छ ।’


पोखरा सराङ्कोटकी सीता थापाले कुखुरा पाल्नकै लागि जग्गा बेच्नुपरेको सुनाइन् । ‘त्यति बेला यस्ता संस्था थिएनन्, कोसँग पैसा माग्ने ?’ उनले भनिन्, ‘जग्गा बेचेसिमात्रै पैसा हुन्थ्यो ।’ पहिलोचोटि जग्गै बेचे पनि गाउँमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पुगेपछि भने त्यसैबाट २ लाख रुपैयाँ ऋण लिएर भैंसी किनेर पालेको थापाले बताइन् । ‘निर्धन पहिल्यै आएको भए मैले जग्गा बेच्नै नपर्ने रहेछ,’ उनले भनिन् ।

Advertisement


ऋण लिनुपर्ने आवश्यकता थिएन । कुनै व्यवसाय चलाउने योजना पनि थिए । आफू र श्रीमान् दुवैको पेन्सन आउँथ्यो । तै स्याङ्जाकी कृष्ण अधिकारी पनि निर्धनको समूहसँग जोडिइन् । आफूसँग भएको चेतनाले गाउँका दिदीबहिनीलाई पनि माथि लैजाऊँ भन्ने सोचिरहेका बेला तिनै चेलीहरुलाई समेटेर समूह बनाई आवद्ध भएको उनले सुनाइन् ।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशका आफ्ना सदस्यका अगुवाको भेला शुक्रबार पोखरामा गरेको थियो । त्यही भेलामा १० जना केन्द्र प्रमुखले आआफ्ना अनुभव र अनुभूति साटे । अधिकांशले आफूहरुको नेतृत्व विकास र उद्यमशीलताको विकास निर्धनको ऋण सहयोगले गरेको सुनाए । स्याङ्जाकी अप्सरा भुजेल, पोखराकी रमा आचार्य, तनहुँकी मनमाया मगर र गोमाया थापामगर, पर्वत पातीचौरकी विन्दुदेवी जिसी, स्याङ्जा वालिङकी तुलसादेवी पँगेनीले आआफ्ना अनुभव र अनुभूति सुनाए ।


मनमाया मगरले कतिपय महिलाले ऋणको पैसाबाट मोजमस्ती गरिदिने र अरुले दुख पाउने गरेको अनुभव साटिन् । सराङ्कोटकी सीता थापाले स्थायी बसोबास भएकालाई मात्रै ऋण दिन संस्थालाई अनुरोध गरिन् । अप्सरा भुजेलले गाउँका साहुसँग ऋण लिँदा तिर्न नसके गोठको भैंसी, बाख्रा रोजीरोजी लैजाने गरेको बताइन् ।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था मुलुककै अग्रणी लघुवित्त संस्था हो । राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर हरिहरदेव पन्तले गरिबी निवारण र महिला सशक्तीकरणको लक्ष्य राखेर पहिलोपटक लघुवित्त संस्था स्थापना गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले अहिले संस्थाका ५० हजार समूह बनेको जानकारी दिए । देशका ७७ वटै जिल्ला पुगेको यो संस्थामा आवद्ध महिलाले आर्थिक उन्नति गर्नुका साथै सामाजिक कुसंस्कारका विरुद्ध पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाए ।

‘हाम्रो समूहका दिदीबैनीहरु प्रदेशमा मन्त्रीसम्म हुनुभएको छ,’ उनले भने, ‘नेतृत्व विकास भनेको यही नै होला ।’
नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय प्रमुख डा रामशरण खरेलले गरिबी निवारणमा लघुवित्त संस्थाहरुको भूमिका कति छ भन्ने यकीन अध्ययन जरुरी रहेको खाँचो औंल्याए । प्रतिनिधि अनुभव सुन्दा गरिबी निवारण र आर्थिक सामाजिक रुपान्तरणमा लघुवित्तहरुको योगदान रहेको बुझ्न सकिने विचार उनले राखे । ‘यी उदाहरणले लघुवित्त संस्थाहरुको औचित्य अझै छ भन्ने देखाउँछ,’ उनले भने । पत्रकार दीपेन्द्र श्रेष्ठ र केशवशरण लामिछानेले सहभागीका अनुभव र अनुभूतिमाथि टिप्पणी राखेका थिए ।

तपाईको प्रतिक्रिया