मुक्ति समाजमा चुनावी कमिटी

समाधान संवाददाता २०७९ वैशाख १८ गते ११:३८

पोखरा l
स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी नेपाल उत्पीडित जातीय मुक्ति समाज पोखरा महानगर कमिटीले शनिबार भेला गरेको छ । पोखरा महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्वारसहितको भेलाले कमिटीका अध्यक्ष हरि सुनारको सयोजकत्वमा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

Advertisement

भेलाले मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर नेपालीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको कमिटी अध्यक्ष सुनारले जानकारी दिए । समितिको सहसंयोजकमा चतुरे विक छन् । विभिन्न उपसमितिमध्ये आर्थिक समितिको संयोजकमा कमिटीका कोषाध्यक्ष राजकुमार गहतराज र सहसंयोजकमा टेकबहादुर रसाइली छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयरका उम्मेद्वार कृष्ण थापाले पार्टीको जनवर्गीय संगठन मुक्ति समाजसँगको समन्वय र सहकार्यमा नीति कार्यक्रम र योजना सञ्चालन गर्ने बताए । उनले मुक्ति समाजको सवाल र मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । ‘सबै वर्गको हकहित कायम गर्दै समतामूलक समाज निर्माणमा पार्टीले ध्यान दिएको छ,’ उनले भने, ‘पोखरा महानगरको निर्वाचनमा उम्मेद्वार पात्रमात्र हो । पार्टीलाई जिताउन सबै नेता तथा कार्यकर्ता खट्नु आवश्यक छ ।’ उनले उम्मेद्वार परिचय तथा घरदैलो कार्यक्रम गरी पार्टीको पक्षमा माहौल बनाउन लागेको जानकारी दिए ।

Advertisement

पार्टीका नेता तथा संविधान सभाका सदस्य डिबी नेपालीले महानगरको कार्यपालिका सदस्य तथा विभिन्न विषयगत समितिमा दलित समुदायको उचित प्रतिनिधित्व गराउन आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनमा दलित समुदाय पार्टीका उम्मेद्वारलाई जिताउन नलागे पार्टी सत्तामा जाने र दलित समुदायबाहिर पर्ने अवस्था आउने उल्लेख गरे ।

उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङले महिला तथा उत्पीडित समुदायको समानता र न्याय प्राप्तिको सवालमा सहजीकरण गर्ने बताइन् । कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिव तथा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली, पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज कास्कीका अध्यक्ष दामबहादुर विश्वकर्मा, जिल्ला कमिटी सदस्य बमबहादुर विश्वकर्मा, पोखरा महानगर कमिटी सदस्य चन्द्रकिशोर गौतम, पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य मनबुजा विश्वकर्मा, अस्मिता नेपाली, कोपिला दियाली, भीम नेपाली लगायतले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई जिताउन लाग्ने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया