पाेखरा १४का मतदाताको सुझाव– ‘चुनाव जितेपछि पनि आउँदै गर्नुहोला’

समाधान संवाददाता २०७९ वैशाख १८ गते १८:२९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का नेकपा एमालेका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घरदैलोमा हिँडेका हुन् । मतदाताले घर दैलोमा पुगेका नेकपा एमालेका पोखरा १४ का उम्मेदवारहरुलाई जनताले अनुभूति गर्न सक्ने विकास निमार्णका काम गर्न सुझाएका छन् ।

Advertisement


एमालेबाट पोखरा १४ को वडाध्यक्षमा डेलबहादुर गुरुङ चुनावी मैदानमा छन् । घरदैलोमा आफू भेटघाटका लागि मात्र नभएर टोलमा भएको विकासका गतिविधि बुझन आएको गुरुङले बताए । ‘म घरदैलोमा मात्रै यहाँ आएको होइन । निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ, भनेर हेर्न आएको हुँ,’ अध्यक्षका उम्मेदवारी गुरुङले भने ।


पोखरा १४ बाट एमाले वडासदस्यमा मानबहादुर भुजेल, सिर्जना सुनार गोपालप्रसाद सापकोटा र सरिता बास्तोला चुनावी मैदानमा छन् । एमाले उम्मेदवार, कार्यकर्ता, नेता साथै समर्थक आइतबार बिहानै घरदैलोमा निस्किएको थिए । घरदैलो कार्यक्रममा रामेश्वरी निवासी गोविन्दा भण्डारीले उम्मेदवारलाई जनताप्रति जवाफदेहिता बन्न सुझाए छन् । अध्यक्षका उम्मेदवार गुरुङको टाउकोमा हात राख्दै भण्डारीले चुनाव जितेर आउँन आर्शिवाद दिएका छन् । ‘चुनाव जितेर आउनुस्, मेरो आर्शिवाद छ ! चुनाव जितेपछि यसरी नै जनताको घरदैलोमा आउनुहोला,’ भण्डारीले भने ।

Advertisement


बिरामी भएर घरमै बसेको भण्डारी सहित घरदैलोमा पुगेका अधिकांशले गुरुङ नेतृत्वको टोलीलाई आर्शिवाद दिएको छ । गुरुङ सहित मानबहादुर भुजेल, सिर्जना सुनार, गोपालप्रसाद सापकोटा र सरिता बास्तोलालाई पनि मतदाताहरुले जनताको सेवामा खटिन सुझाएका छन् ।


पाँच वर्षअघि एमालेकै तर्फबाट प्रेमबहादुर कार्कीले वडाध्यक्षमा जितेका थिए । घरदैलोमा पुग्दा धेरै मतदाताले एमाले उम्मेदवारसँग थप विकासको अपेक्षा गरेको एमाले १४ का वडाध्यक्ष बटुकृष्ण (कृष्णा) कुँवरले बताए । ‘हामीसँग वडाबाँसीको धरै अपेक्षा रैछ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ,’ कुँवरले भने । निर्वाचन परिचालन गर्न वडामा बलबहादुर सेन्चुरीको संयोजकत्वमा कमिटी गठन भएको छ । टोलीको सह–इन्चार्ज माओ थापा, ढोलबहादुर गुरुङ र राजन कार्की छन् ।

Advertisement


सह–इन्चार्ज थापाका अनुसार आइतबार वडाको रामेश्वरी, शुभकामना, मसिना, समितरा, शिवमार्ग साधना मार्ग, सेती दोभान टोलविकास संस्थाको टोलमा घरदैलो सम्पन्न भएको छ । घरदैलो गर्दा मतदाताले सकारात्मक सुझाव आएको थापाले बताए । घरदैलो कार्यक्रमलाई सोमबारबाट अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताए ।

तपाईको प्रतिक्रिया