मेयरका उम्मेदवारको प्रतिबद्धता–सुशासन

समाधान संवाददाता २०७९ वैशाख १८ गते २०:४४

पोखरा ।
नेकपा एमालेबाट पोखराको मेयरका उम्मेदवार कृष्ण थापाले महानगरपालिकामा लाइनमा बसेर सेवा लिने युगको अन्त्य गर्ने बताएका छन् । ‘हामीले अनलाइन सेवालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘दैनिक सेवालाई सर्वसुलभ बनाउने छौं ।’ उनले सुशासनका लागि अनलाइन सेवामा जोड दिएका हुन् ।


थापा आइतबार कास्कीकोट युवा सञ्जालले आयोजना गरेको मेरो उम्मेदवारी, योजना र प्रतिबद्धता शीर्षक कार्यक्रममा बोल्दै थिए । भौगोलिक रुपमा दुर्गमका वडामा सुगमको सेवा दिने पनि थापाले सुनाए । पोखरामा योजनाबद्ध विकास गरी व्यवस्थित सहर बनाउने चाहना उनले प्रकट गरे । ‘ल्यान्डयुज प्लान बनाएर वातावरण संरक्षणसहितको विकासलाई हामी अघि बढाउन चाहन्छौं,’ उनले भने । ‘हरेक विकासलाई जनताको जीवनसँग, आर्थिक उन्नतिसँग जोड्छौं ।’


थापाले जनप्रतिनिधि शासक नभई जनताका असल नोकर हुन् भन्ने स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरबाट आफूले पाउने सेवा, सुविधा नागरिकका लागि लगाउने वचनबद्धता पनि उनले व्यक्त गरे ।

Advertisement


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता थापाले औंल्याए । उनले भने, ‘असम्भव भन्ने केही पनि छैन ।’ वडा वडामा एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने उनले सुनाए । ‘सके हरेक वाडमा हेलिप्याडै बनाएर हाम्रा नागरिकलाई हेलिकोप्टरबाटै उद्धार गर्छाैं, वडाका स्वास्थ्य केन्द्रहरुमा एम्बुलेन्स पठाउँछौं,’ उनले भने ।
शिक्षा र स्वास्थ्यको व्यापारीकरणलाई न्यूनीकरण गर्ने भनाइ पनि थापाले राखे । ‘महँगो शिक्षाको अन्त्य गर्छाैं, हाम्रो महानगरका बालबालिकाले सर्वसुलभ ढंगले पढ्न पाउने व्यवस्था गर्छाैं,’ उनले भने, ‘महानगरपालिकाका नागरिकका छोराछोरीले आर्थिक अभावले शिक्षाबाट बञ्चित हुन नपर्ने अवस्था बनाउँछौं, आर्थिक अभावकै कारणबाट महानगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने व्यवस्था गर्छाैं ।’


विकास भनेको भौतिक पूर्वाधार नभएको भन्दै मानव संशाधनको विकासका लागि पनि लाग्ने थापाले जनाए । महानगरपालिकाका लागि विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुको सम्मान गर्ने पनि उनले सुनाए ।
स्थानीय तहसँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय संघ, संस्थासँग सम्बन्ध राखेर पोखराको विकासमा साझेदारी गर्ने प्रतिबद्धता थापाले राखे ।

Advertisement


कास्कीकोट युवा युवा सञ्जालले मेयर र वडाध्यक्ष उम्मेदवारलाई पालैपालो आफ्ना योजना र प्रतिबद्धता राख्ने मञ्च प्रदान गरेको थियो । त्यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले पनि योजना र प्रतिबद्धता सुनाए ।


‘मेरो उम्मेदवारी होइन, हाम्रो उम्मेदवारी चुन्न चाहन्छु,’ नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवार आचार्यले भने । महानगरपालिकालाई सिस्टममा चलाएर सेवा दिने प्रतिबद्धता उनले जनाए । ‘हाम्रो सबैभन्दा महत्वपूर्ण प्रतिबद्धता हो सुशासन,’ उनले भने, ‘हेल्प र सपोर्ट डेस्क राखेर महानगरपालिकामा सेवा दिन्छौं ।’


आफूहरुले गर्ने हरेक निर्णय सार्वजनिक परीक्षण गराउने प्रतिबद्धता आचार्यले राखे । ‘अँध्यारो कोठामा बसेर निर्णय गर्दैनौं,’ उनले भने, ‘विवादास्पद केही कुरा भए जनताको राय लिएर मात्रै निर्णय गर्छौैं ।’


अव्यवस्थित बसोबासीलाई ४५ दिनभित्र परिचयपत्रको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । त्यस्ता बासिन्दाको जीवनस्तर २ वर्षभित्र स्वरोजगारी र रोजगारीबाट उकास्ने उनले सुनाए । पोखराको समग्र विकासका लागि शक्तिशाली विकास प्राधिकरण गठन गर्ने र त्यसमा जनताको पनि सेयर राख्ने योजना आचार्यले सुनाए ।


स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पोखराका पुराना र सांस्कृतिक बस्तीलाई सम्पदा बस्ती घोषणा गरी पर्यटकीय गन्तव्य बनाउने सुनाए । संस्कृतिगृह निर्माण गर्ने उनको अर्काे योजना थियो । सुकुम्बासी वस्तीलाई महानगरीय आवासगृहमा स्थानान्तरण गर्ने योजना पनि गनेसले सुनाए ।


कार्यक्रममा मेयरका राप्रपा उम्मेदवार शंकर खराल, जरोकिलो पार्टीका सञ्जय तिमिल्सिना, माओवादी समाजवादीका भोजराज त्रिपाठीले पनि योजना र प्रतिबद्धता सुनाए । पोखरा २४ मा वडाध्यक्षमा एमालेका उम्मेदवार रामचन्द्र थापा र कांग्रेसका उम्मेदवार भरतबहादुर अधिकारीले पनि वडास्तरीय प्रतिबद्धता जनाएका थिए ।


उम्मेदवारलाई जनताकै सामुन्ने राखेर तिनका योजना र प्रतिबद्धता सुनाउन कार्यक्रम गरिएको हाम्रो कास्कीकोट युवा सञ्जालका संस्थापक अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी र अध्यक्ष शीतल गिरीले जानकारी दिए । कार्यक्रम संयोजक गौरव त्रिपाठीले स्वागतसहित सञ्जालका गतिविधिबारे जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया