विपक्षीले आफ्नो वडामा बजेट लैजान्छ भने, मादीका १२ वडा मेरा हुन्ः महेन्द्र गुरुङ

समाधान संवाददाता २०७९ वैशाख १८ गते २१:०४

Advertisement

पोखरा ।

नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ ९महेन्द्र०ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार मादी ८ मा आयोजित चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे ।

Advertisement

कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ । ‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’

२०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने उनको भनाइ थियो । मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए । उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उनले भने ।

Advertisement

उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाइन् । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङको भनाइ थियो । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले भनिन् ।

एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया