खेतबारीमै पुगे उम्मेदवार
पोखरा l
नेपाली कांग्रेस अन्नपूर्णले गाउँ केन्द्रित चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार जनतासँग घरदैलोमा व्यस्त छन् ।
अन्नपूर्ण गाउँपालिकामा ७ माझ गाउँका टेल्का, भिचुक लगायतका ठाउँमा नेपाली कांग्रेसको तर्फबाट पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका उम्मेदवारसहितका नेता तथा कार्यकर्ता मतदातासँग मत माग्न घर घरमा पुगेका हुन् । अन्नपूर्ण गाउँपालिका अध्यक्षका उम्मेदवार युवराज कुँवर र उपाध्यक्ष उम्मेदवार खिमकुमारी गुरूङले जनताका समस्या समाधान गर्ने र शैक्षिक सुधार, सडक, खानेपानी, विद्युत लगायतका कार्य गर्ने प्रतिवद्धता जनाए । चुनाव प्रचारप्रसार समिति संयोजक मनपति भण्डारीले यसपालि जनताले पालिकाको टिम नै कांग्रेसबाट छान्ने दाबी गरे ।
२०७४ को स्थानीय तहमा वडा नं ७ मा एमालेले वडाध्यक्ष जितेको थियो । घरमा नभेटिएका मतदातासँग खेतबारीमा नै गएर मत माग्ने गरेको नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि राजबहादुर गुरूङले बताए । ५ वर्षसम्म एमालेको नेतृत्व रहेको यस वडामा जनतालक्षित काम नभएको नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति आईबहादुर गुरूङले बताए । कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरूङले अन्नपूर्णको समुन्नत विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
कांग्रेस नेता पोषनाथ शर्माले कुन पार्टीलाई भोट हाल्दा मुलुकमा शान्ति हुन सक्छ, विकास हुन सक्छ भन्ने जनताले बुझेको र सोही बमोजिम विवेक प्रयोग गर्ने उल्लेख गरे । लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले जनताको समस्या बुझ्ने पाटी नेपाली कांग्रेस भएको बताए । वडाध्यक्षका उम्मेदवार कमल गुरूङले अवसर पाए काम गरेर देखाउने प्रतिबद्वता गरे । वडा सभापति चित्रबहादुर गुरूङ लेकालीको अगुवाइमा भएको कार्यक्रममा वडा सदस्य पदका उम्मेदवार होमबहादुर थापा, गौप्रसाद गुरूङ, ढाटी गुरूङ, लक्ष्मी थापा विक लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया