प्रेस स्वतन्त्रता सबैभन्दा ठूलो उपलब्धि: मुख्यमन्त्री

समाधान संवाददाता २०७९ वैशाख २० गते ११:४९

पोखरा l
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताए ।
लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगतको अतुलनीय योगदान रहेको विषय स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न नेपाली प्रेस जगत सजग रुपमा अग्रसर भइरहने विश्वास व्यक्त गरे ।

Advertisement

कानुन निर्माण र कार्यान्वयनका सिलसिलामा प्रेस स्वतन्त्रतामाथि केही असहज अवस्था सिर्जना हुने गरे पनि प्राप्त अधिकारलाई सदुपयोग गर्ने दायित्व सरोकारवाला सबैको रहेको मुख्य मन्त्री पोखरेलले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘त्यसैले त बेला बेलामा उत्पन्न हुने असहजताको अन्त्य निरन्तरको संवादबाटै समाधान हुने गरेको छ ।’ उनले गण्डकी प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदा संवेदनशील र सजग रहेको विश्वास उनले दिलाएका छन् ।

तपाईको प्रतिक्रिया