आचारसंहिता नमाने उम्मेदवारी रद्दसमेत हुन सक्छः पराजुली

समाधान संवाददाता २०७९ वैशाख २० गते १३:३२

हुमनाथ पराजुली, प्रदेश निर्वाचन अधिकारी
सामान्य खालको उल्लंघनमा सचेत गराउँछौं । अल्ली गम्भीर उल्लघंन भए आयागले स्पष्टिकरण सोध्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देश दोस्रो पटक स्थानीय तहको चुनावको संघारमा छ । देशका ७ सय ५३ स्थानीय तहमा एकै पटक जनप्रतिनिधि चुन्न वैशाख ३० मा मतदान हुँदै छ । गण्डकी प्रदेशका ११ जिल्लामा पनि चुनावको तयारी तीव्र गतिमा भइरहेको छ । गण्डकीका ८५ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य यो निर्वाचनबाट चुनिने छन् । चुनावको तयारीबारे प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचन नजिकिँदै गर्दा धेरै जसो तयारी उत्तराद्र्धमा छ । प्रक्रिया धेरै अघि बढिसकेको छ । निर्वाचन घोषणा हुनुभन्दा धेरै अघिदेखि तयारी सुरु गरेका हौं । मतदान केन्द्र टुंग्याउने, मतदाता नामावली संकलन गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । मतपत्र छापिसक्यौं । अबचाहिँ मतदान अधिकृत छनोट गरेर तालिम दिने प्रक्रियामा प्रवेश गरेका छौं ।

निर्वाचन आचारसंहिता कसरी पालना भएको छ ?
निर्वाचन आचारसंहिता भनेका ठ्याक्कै ऐन, कानुन नभएर नैतिक आचरण व्यवस्थित गर्ने, अनुशासनमा राख्ने नैतिक बन्धन हो । यो निर्माण गर्दा समग्र सरोकारवाला पक्षको राय, सल्लाह, सुझाव लिएर समन्वयन गरेर उहाँहरुलाई समावेश गरेर, उहाँहरुको सहकार्यमा निर्माण गरिएको हो । सो अनुशासन पालना गर्ने क्रममा हाम्रो ठाउँमा अहिलेसम्म राम्रो स्थिति देखिएको छ । उजुरी परेको छैन ।

Advertisement

कार्यालयले अनुगमन कत्तिको गरेको छ ?
निर्वाचनमा आचारसंहिता पालना भए÷नभएको विषयमा अनुगमन गर्नका लागि हाम्रो जिल्ला स्तर वा केन्द्र स्तरमा संयन्त्र छ । केन्द्रमा एक जनाको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति छ । प्रदेश र जिल्लामा जिल्ला निर्वाचन र प्रदेश निर्वाचनको कार्यालयबाट अनुगमन समिति छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित अधिकृतको संयोजकत्वमा अनुगमन संयन्त्र छ ।

आचारसंहिता पालना भएन भन्ने उजुरी परेको छ कि छैन ?
औपचारिक रुपमा अहिलेसम्म आएको छैन । कतिपय अवस्थामा मनोनयन दर्ता गर्न जादाँ अथवा अन्य कुनै शिलशिलामा चाहिँ केही ठूला ब्यानर, झण्डा प्रयोग गरे भनेर गुनासा आएका छन् । हामीले खासगरी राजनीतिक दलसँग उम्मेदवारीको अन्तिम नामावली निस्किसकेपछि चुनावको प्रचारप्रसारको बेला अली बढी उल्लंघनका घट्ना हुने अनुमान गरेका छौं ।

Advertisement

निष्पक्षा निर्वाचनका लागि सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ?
आजका दिनसम्म सुरक्षाको हिसाबले धेरै संवेदनशील चुनौती प्रत्यक्ष रुपमा देखेका छैनौं यद्यपि प्रमुख जिल्ला संयोजकत्वमा जिल्ला सुरक्षा व्यवस्थापन समिति छ । निर्वाचन सुरक्षा निकायसँग हामी दैनिक रुपमा अपडेट गरिराखेका छौं । सुरक्षा व्यवस्थापनमा केही संख्यामा म्यादी प्रहरी पनि तयारी भइसकेका छन् । कुन मतदान केन्द्रमा कति जना खटाउने भनेर सुरक्षा संयन्त्रणले रणनीति बनाएरअगाडि बढेको छ ।

तदान केन्द्र कति छन् रु कसरी मतदान केन्द्र तोकियो ?
कास्की जिल्लाको हकमा र देशव्यापी रुपमा निर्वाचन आयोगको आफ्नै भौतिक संरचना छैन । मतदान गराउनको लागि हामी सार्वजनिक सरकारी भवन प्रयोग गछौं । खासगरी विद्यालय, कुनै वडा कार्यालय अथवा अन्य सार्वजनिक निकायका भवन प्रयोेग गछौं । कास्की जिल्लामा १ सय ५० वटा मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र छन् ।

मतदान केन्द्रका लागि कर्मचारी कसरी व्यवस्थापन गरिएको छ ?
मतदान केन्द्रमा खटिने कर्मचारी र जनशक्ति व्यवस्थापनको विषयमा प्रदेश निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको अधिकृतबीच समन्वयन गरेर र हाम्रो जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरेर प्रमुख जिल्ला अधिकृतको संयोकत्वमा समिति बनाइएको हुन्छ । निर्वाचनमा खटिने कर्मचारी जनशक्तिको विवरण संकलन गरी मुख्य निर्वाचन अधिकृतलाई पठाउछौं । त्यहाँबाट व्यवस्थापनको अन्तिम निर्णय हुन्छ । हामीले त्यो विवरण निर्वाचन केन्द्रलाई हस्तान्तरण गरिसकेका छौं ।

मतगणना कसरी व्यवस्थित बनाउने सोच्नु भएको छ ?
अहिले हामी मतगणनाभन्दा अघिको तयारीमै छौं किनभने यो निर्वाचन भइसकेपछिको विषय हो । तर पनि हामीले तयारी भने गरिसकेका छौं । मनोनयन दर्ताको लागि २ दिन समय दिएका थियौं, कतिपय दलले अन्तिम दिनको अन्तिम समयमा उम्मेदवार टुंग्याउदा एकदम प्रेसर आयो । हामीले भिडभाड हुन्छ भन्ने सोचेर नै राजनीतिक दलसँग सल्लाह गरेर सरोकारवाला पक्ष, सर्वददीय बैठक राखेर भिडभाड नहोस् भनेर अनुकूल समयमा आउनका लागि छलफल गरेका थियौं । उहाँहरु सहमत पनि हुनुभएको थियो तर पनि उहाँहरुको बाध्यता होला अन्तिम समयमा आएरमात्रै उम्मेदवार टुंगिदा साथमा समर्थक प्रस्तावक आउँदा निर्वाचन कार्यालयमा भीडभाड धेरै थियो । त्यसलाई हामी आगामी दिनमा सुधार गर्नेछौं ।

निर्वाचन सफल पार्न राजनीतिक दलको साथ कत्तिको मिलेको छ ?
प्रदेशभरि विशेषगरी कास्की जिल्लामा राजनीतिक दलमात्र नभएर आम सरोकारवालाबाट पनि धेरै सहयोग पाएका छौं । सर्वदलीय सर्वपक्षीयसँग निर्णायक तहमै पदाधिकारी बोलाएर बैठक आयोजना गरेका थियौं । निर्णय कार्यान्वयन गर्ने हजुरहरुले नै हो भनेर खबर गरेका थियौं । सञ्चार माध्यमबाट पनि हामीले धेरै साथ, सहयोग पाएका छौं । निर्वाचन आयागकै तर्फबाट विशेष सूचना पनि प्रचारप्रसार गर्न लगाएका छौं । नागरिक समाजले पनि आचारसंहिता पालनका कुरा हामीलाई जानकारी गराइरहनु भएको छ । पर्यवेक्षकले पनि धेरै सहयोग गर्नुभएको छ । उत्साहजनक रुपमा हाम्रो कार्यक्रममा सहभागी भइदिनु भएको छ, यो हाम्रो लागि ठूलो कुरा हो ।

आचारसंहिता नमाने कस्तो कारवाही हुन्छ ?
सामान्य खालको उल्लंघमा हामी सचेत गराउँछौं, गल्ती नदोहोर्‍याउन भन्छौं । तपाइले गल्ती गर्दा गाह्रो पर्न सक्छ, यो हामी सबैको साझा सरोकारको विषय हो भनेर सम्झाउँछौं । अल्ली गम्भीर उल्लघंन भए आयागले नै स्पष्टिकरण सोध्छ । उच्च पदस्थ पार्टीका सदस्यलाई पनि स्पष्टिकरण सोधेका समाचार सञ्चार माध्यममा आएका छन् । निर्वाचनमा आचारसंहितामात्र नभएर पालना गर्नुपर्ने अनुशासन गम्भीर उल्लघंन भएको अवस्थामा निर्वाचन ऐन बमोजिम कारवाही हुन्छ । उम्मेदवारी रद्दसमेत हुन सक्छ ।

मतदाता शिक्षा कसरी दिइरहनुभएको छ ?
निर्वाचन आयोगको अपेक्षा हो शतप्रतिशत नै मत खसोस्, स्वच्छ निष्पक्ष रुपमा निर्वाचन सञ्चालन होस् । सक्दो धेरै मतदान होस्, सक्दो धेरै सहभागी हुन्, सक्दो राम्रो परिमाण आओस्, सक्दो राम्रा उम्मेदवार निर्वाचित हुने अवसर सिर्जना होस् । यसका पनि आआफ्नै सिमा छ । कति मतदाता देशबाहिर हुनुहुन्छ कति जना स्थान बाहिर भएका कारणले मतदान केन्द्रसम्म पुग्न सम्भव छैन । मतदान गरे पनि कति मतपत्र बदर हुन्छन्, त्यस अवस्थामा जति परिमाण आउनु पर्ने हो त्यति आउँदैन ।
निर्वाचनका लागि मतदान स्थलसम्म गएर मतदान गर्ने वातावरण बनाउनलाई मतदाता शिक्षाले भूमिका खेल्छ । हामीले सञ्चार माध्यमबाट विभिन्न सूचना प्रचारप्रसार गरेका छौं, निर्वाचनको मुख्य सरोकारवाला भनेका राजनीतिक दल हुन् । उहाँहरुलाई पनि आफ्ना मतदातालाई सुसूचित गर्नका लागि उत्प्रेरित गरेका छौं । कसरी मतदान गर्ने भनेर दलको तर्फबाट उहाँहरुले सुसूचित गर्न सक्नुहुन्छ । नागरिक समाज, गैरसरकारी संस्थाले पनि चासो राख्नुभएको छ ।

आम मतदातालाई के भन्नुहुन्छ ?
निर्वाचन एउटा राष्ट्रिय महाअभियान हो । समग्र सरोकारवालाको समन्वयन, सहकार्य, सहयोग र सहभागितामा सम्पन्न हुने पर्व हो । सबैले सहयोग गर्नुपर्‍यो सबै, सक्रिय भएर आआफ्नो ढंगबाट निर्वाचन आचारसंहिताको पालना गर्दै समग्र सरोकारवाला मिलेर निर्वाचनलाई सफल बनाऔं । यहाँहरुको सहयोग, शान्तिपूर्ण सहभागितामा यहाँहरुले मतदान गरेर लिने परिमाण नै हाम्रो सफलता हो ।

तपाईको प्रतिक्रिया