एकै ठाउँबाट सबै सेवा दिने प्रतिवद्धता

पोखरा र पोखरेलीको भविष्यमा ठूलो प्रभाव पार्ने निर्णय बन्द कोठाभित्र बसेर गर्दैनौं: आचार्य

समाधान संवाददाता २०७९ वैशाख २० गते १४:२३

पोखरा l
पोखरा महागरको नेतृत्व पाएमा सेवाग्राहीलाई एउटै कोठाबाट सबै सेवा दिने पाँच दलीय गठबन्धनले प्रतिवद्धता गरेको छ । घोषणापत्रमा गठबन्धनले सेवाग्राहीलाई कुनै खास सेवा लिन पूरै महानगर चहार्नुपर्ने बाध्यता अन्त्य गर्न उल्लेख गरेको छ ।
‘निर्वाचित भएको तीन महिनाभित्रै यो घोषणालाई कार्यान्वयन गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ । मेयरका उम्मेदवार धनराज आचार्य भन्छन्, ‘महानगरका सेवाग्राहीले दुःख नपाऊन भनेर मुभलेस सेवा निर्वाचित भएको ३ महिनाभित्रै सुरु गर्छौं ।’ महानगरको कार्यालय हाल न्युरोडमा छ । नगरपालिकाको सेवा दिने संरचनामा बनेको उक्त भवनमा नअटेर केही विभाग विभिन्न स्थानमा भाडामा छन् ।

Advertisement

आचार्यले पोखरालाई आधुनिक महानगर बनाउन आवश्यक पूर्वाधार, योजना र कार्यशैली विकास गरिने बताएका छन् । पोखरा र पोखरेलीलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्दा सरोकारवालको सुझाव लिइने उनले प्रतिवद्धता गरे ।
आचार्यले भने, ‘बन्द कोठाबाट निर्णय ऐतिहासिक विषयमा हचुवाका भरमा निर्णय गर्ने शैली हामी अन्त्य गर्छाैै । पोखरालाई आधुनिक महानगर बनाउँछौं ।’ उनले पोखरा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने विषयमा स्थानीयसँग समन्वय नहुनु दुःखद रहेको बताए । उनले यी विषयमा स्थानीयको हित र महानगरको विकास दुवैलाई विचार गरी निर्णय गर्ने प्रतिवद्धता गरे ।

आचार्यले भरतपोखरीबासीले पोखरामा कोठा लिएर बस्नुपर्ने वाध्यता चाडै सकिने उल्लेख गरे । पृथ्वीचोकमा सिटी बसपार्क र लामेआहालमा बसपार्क बनेपछि यो वाध्यता हट्ने उनको भनाइ छ । आचार्यले आफू पदबहाली भएकै दिन अत्यावश्यक सिफारिस पनि निशुल्क गर्ने घोषणा गरेका छन् । आचार्य नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका उम्मेदवार हुन् । गठबन्धनबाट उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट कोपिला रानाभाट उम्मेदवार छिन् ।

सोमबार पोखरा ३३ मा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारले वडामा जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो ।
आचार्यले वडाका अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् ।
पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । पोखरा ३३ तल्लो पुणिटारमा आयोजना गरिएको घरदैलो तथा परिचयात्मक कार्यक्रममा पोखरा ३३ का वडा सदस्यका उम्मेदवारहरु प्रकाश कार्की, दुर्गा केसी, श्रीदत्त बराल, सृष्टि विकसहित गठबन्धनका नेता, कार्यकर्ता सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया