नवलपुरमा कांग्रेस र एमालेको झडप, ६ जना घाइते
पोखरा
गण्डकी प्रदेशको जिल्ला नवलपुरस्थित हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् ।
मंगलबार भएको झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चारजनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।
कांग्रेसबाट उपप्रमुखका उम्मेदवार पूर्णसिंह राना पनि घाइते भएको पाण्डेको सचिवालयले उल्लेख गरेको छ । हुप्सेकोटमा एमालेबाट चेतबहादुर राना अध्यक्षका उम्मेदवार छन् ।
५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ। उनीहरुले उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन्।
चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरीलगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ।
एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।
तपाईको प्रतिक्रिया