अटेरीको घरदैलो : यसरी पनि हुन सक्छ चुनावी प्रचार !

समाधान संवाददाता २०७९ वैशाख २१ गते ११:१७

पोखरा ।
देशैभर आक्रामक बनेर आएको अटेरी समुह, एकाबिहानै पोखरा २५ हेम्जामा झुल्कियो । भाइरल रोड उपनामले चिनिने, कुश्मा — बागलुङ हाइवे छेवैमा अटेरीका पोखरा महानगरका उम्मेद्वार । विभिन्न वडामा उम्मेद्वारी दर्ता गराएका अटेरी अभियन्ताहरु साथै अभियानलाई सघाउनेहरु पनि जम्मा भएका थिए ।

Advertisement

‘म अटेरी’ लेखिएको टिसर्ट लगाएका फुर्तिला अटेरीहरु सबै साइकलमा थिए । केहीले नेपालको झण्डा पनि बोकेका थिए । यो समुहको अगाडीपट्टी गाडी थियो । साइकल र्‍यालीमा सहभागीको सुरक्षाका लागि गाडी अघि लगाएर, पछिपछि अटेरीको समुह साइकलमा अघि बढ्यो ।
कि भ्रष्टाचारी, कि अटेरी
कि कमिसनखोरी, कि अटेरी
कि गुण्डागर्दी, कि अटेरी
कि दलाली, कि अटेरी

नारा घन्काउँदै अटेरी समुह अघि बढ्छ ।

‘मासु, च्युरा, बाइक र्‍यालीको विरुद्धमा हामीले साइकल र्‍याली निकालेका हौं,’ पोखरा महानगर प्रमुख पदका अटेरी उम्मेद्वार तथा अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले भने, ‘पोखरा शान्त सहर हो । शान्त राख्नुपर्छ भनेर पनि यो साइकल र्‍याली सुरु गरेका हौं ।’

Advertisement

भड्किलो चुनावी प्रचार प्रसारलाई कम गर्न साइकलबाटै पोखराका वडा वडामा पुग्ने अटेरीले लक्ष्य लिएको छ । यसरी अघि बढेको अटेरी समुह हेम्जास्थित पेट्रोल पम्पभित्र छिर्छ । राजनीतिक दलले मोटरसाइकलमा पेट्रोल भरिदिएर हो हल्ला गर्दै, सडकमा हिडेका अरु सवारीलाई पनि बाधा पुग्ने गरि गर्ने मोटरसाइकल र्‍याली विरुद्धको सांकेतिक विरोध थियो यो । ‘अरुले चुनावमा बाइक र्‍याली गर्छन् । तेल भर्छन् । हामी सांकेतीक रुपमा पेट्रोल पम्प छिरेका छौं । यो संकेतको रुपमा मात्रै हो,’ उनले भने ।

यसरी, चुनावी प्रचारप्रसारलाई मितव्ययी बनाउँदै अटेरी पोखराका सबै वडामा पुग्ने छ । मतदातालाई बुझाउने छ, ‘चुनाव प्रचारप्रसार यसरी पनि हुन सक्छ ।’ पोखरा २५ हेम्जाबाट सुरु भएको अटेरी साइकल ¥याली, दिउँसोपख मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा सहिद चोकमा पुग्यो ।

हाल पोखरा महानगरमा मात्रै मेयर सहित १० वडा अध्यक्ष र ६ वडा सदस्य गरि १७ जना अटेरी अभियानका अभियन्ताहरुले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । स्थानीय तहलाई दलीय बनाउनु हुन्न भन्ने मान्यता स्थापित गर्न लागि परेको अटेरी अभियानलाई मुख्यनिर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ चुनाव चिन्ह दिएको छ ।

अटेरीले आफ्नो चुनावी घरदैलो कार्यक्रम यसरी नै वडा वडामा चलाउने छ । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले अटेरीले मतदातालाई सचेत बनाउँदै, भड्कीलो चुनावलाई मितव्ययी बनाउनुपर्ने जिम्मेवारी अभियानले महसुस गरेकाले पनि चुनावी कार्यक्रम फरक शैलीमा गर्न खोजेको बताए ।

तपाईको प्रतिक्रिया