सडक, पूर्वाधार र पर्यटन मुख्य एजेन्डा

समाधान संवाददाता २०७९ वैशाख २१ गते ११:५३

पोखरा l
एमालेले पोखरा र १७ को विकासका लागि सडक निर्माण तथा स्तरोन्नत्ति र पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । निर्वाचन परिचालन कमिटी पोखरा १७ ले खानेपानी पाइप विस्तार, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदका पूर्वाधार निर्माणका योजनाअघि सारेको वडाध्यक्षका उम्मेद्वार राधिका शाही योगीले बताइन् ।

Advertisement

कमिटीले मंगलबार आयोजना गरेको उम्मेद्वार परिचय तथा आमसभामा उनले वडा प्रोफाइल बनाएर स्थानीय जनताको आवश्यकताको आधारमा विकास, निर्माणका काम गरिने उल्लेख गरिन् । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारील पोखरा ६, ७, १५, २१ र २२ को केन्द्रमा पर्ने पोखरा १७ बाट सबै वडामा जोड्ने कनेक्टिङ सडक निर्माण भएको उल्लेख गरे ।

बिरौटाचोकदेखि तीनकुने चोकसम्मको सडक अस्फाल्ट प्रविधिमार्फत महानगरको गौरवको योजनाको रुपमा अघि बढेको उनले जनाए । ‘हाम्रो कार्यकालमा ५१ किलोमिटर सडक निर्माण भएको छ,’ उनले भने, ‘जताततै खाल्डाखुल्डी भएर स्थानीय जनताले धाने रोपेर बिरोध जनाउने ड्यामसाइडको बाटो अस्फाल्ट प्रविधिमार्फत् पिच भएको छ ।’

निवर्तमान वडा सदस्य समेत रहेकी योगीले क्रमागत रुपमा रहेका गौरवका योजनालाई निरन्तरता दिने बताइन् । उनले सामाजिक क्षेत्रको विकास र समुदाय स्तरमा सचेतना नभएसम्म विकासको मुल ढोकालाई खोल्न नसक्ने धारणा राखिन् । एमालेले काउसेघारी पावर हाउसको ५ सय रोपनी जग्गामा खेल मैदान बनाउने योजना लिएको छ । त्यसका लागि १० करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार भएको छ ।

डेभिजफल पार्किङ स्थलदेखि लेकसाइडतर्फको पैदलमार्ग, डेभिजफलदेखि महतगौंडासम्मको निर्माणाधीन फास्ट ट्रयाकलाई क्रमागत रुपमा सम्पन गर्ने योजना एमालेको छ । गुप्तेश्वर गुफा, डेभिजफल र पर्वतीय संग्रहालय जस्ता क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्ने उनीहरुले बताए । फेवा नहरमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न तारजालीको व्यवस्थापन गर्नेदेखि मुलकुलोको उचित व्यवस्थापन गर्न पहल गर्ने उनीहरुले आश्वासन दिए ।

Advertisement

फेवा नहरलाई संरक्षित, सुरक्षित, र पर्यटकीय हिसाबले व्यवस्थापन गर्ने एमालेको योजना छ । वडा अध्यक्षका उम्मेद्वार योगीले छोरेपाटन क्षेत्रको भलपानीलाई दीर्घकालीन व्यवस्थापनको लागि डिपिआर तयार पारी काम हुने जनाइन् । एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले वडाको समग्र विकास गर्ने अधिकार स्थानीय सरकारको भएको बताए । स्थानीय समुदायको स्वामित्व र अपनत्वमा हुने विकास दिगो र भरपर्दो हुने उनको भनाइ छ ।

मेयरका उम्मेद्वार कृष्ण थापाले वडा नम्बर १७ को प्रतिवद्धतालाई पूर्ण रुपमा साथ, समर्थन गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले वडा कार्यालयले अघि सारेका गौरवका योजनालाई पूरा गर्ने र वडाबासीका आकांक्षालाई विश्वासमा परिणत गर्ने आश्वासन दिए । उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङले आर्थिक रुपमा सबल र सक्षम नभएसम्म महिलाको सशक्तीकरण नहुने उल्लेख गरिन् । उनले पुरुषको साथ र सहयोग नभएसम्म लैंगिक हिंसा विरुद्धको अभियान सफल नहुने बताइन् ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले अर्थपूर्ण र निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म सुखी नेपाली र समृद्ध नेपाल बन्न नसक्ने तर्क गरिन् । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटी उपसचिव रश्मि आचार्य, कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, वडा कमिटी अध्यक्ष रिषभ तिमिला, उपाध्यक्ष लालबहादुर राना, उपसचिव उत्तम सिग्देल लगायतले बोलेका थिए । कार्यक्रममा तारापति सुवेदी, शिवहरि ढुंगाना, माया गुरुङ, लक्ष्मी नेपाली लगायतले गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया