पालुङटारको गठबन्धनमा खटपट

समाधान संवाददाता २०७९ वैशाख २२ गते १०:४०

गोरखा l
जनता समाजवादीका नेता डा बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा उनको पार्टीका मेयर उम्मेदवारलाई समर्थन गर्ने निर्णय गोरखा कांग्रेसले फिर्ता लिएको छ ।

Advertisement

कांग्रेस र जसपा केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरेको थियो । त्यसै अनुसार कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले जसपाका मेयर उम्मेदवार प्रेम गुरुङलाई समर्थन गर्ने विज्ञप्ति निकालेका थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लाका वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताएका छन् । त्यसपछि दुबै दलबीच एकल रुपमा नै प्रतिस्पर्धा गर्ने सहमति भएको न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागबण्डामा सहमति नजुटेपछि दुबै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निष्कर्षमा पुगेका हुन् ।
पालुङटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मेयर, उपमेयर, वडाध्यक्ष लगायत पदमा एकल उम्मेदवारी दिइसकेका छन् । कांग्रेस जिल्ला सभापति न्यौपानेले पालुङटारमा कांग्रेस एकल रुपमा निर्वाचनमा जाने भन्दै नगरपालिकामा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

Advertisement

‘पालुङटारमा कांग्रेस एकल रूपमा निर्वाचनमा जाने भएकाले कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरूलाई निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन गर्दछु,’ सभापति न्यौपानेले नगर कार्यसमितिलाई पठाएको पत्रमा उल्लेख छ ।

बाबुरामको जोडबलका कारण उम्मेदवारी फिर्ताका दिन कँडेललाई फिर्ता गरिएको व्यहोराको पत्र कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतको कार्यालय पठाएका थिए । तर, देउवाले पठाएको पत्र ढिलागरी पुगेको थियो । कँडेलको उम्मेदवारी कायमै भयो । जसपाले भने मेयर आफूले पाउने निर्णय केन्द्रले गर्ने सूचना पाएपछि वैशाख १६ मा उपमेयरको उम्मेदवारी फिर्ता लिएको थियो ।

Advertisement

केन्द्रको निर्णय अनुसार तालमेल गर्न प्रयास गर्दा सम्भव नभएपछि एकल रुपमा नै चुनावमा जाने निर्णय भएको न्यौपाने पठाएको पत्रमा उल्लेख छ । ‘पालुङटार र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने सम्बन्धमा दुबै दलको केन्द्रबाट प्राप्त निर्देशन बमोजिम जिल्लामा बैठक बसेर वडा तहसम्मको तालमेल गरी संयुक्त प्यानल बनाई निर्वाचनमा जाने विषयमा प्रयास गर्दा दुबै दलका नेतारकार्यकर्ताले एकल रूपमा चुनावमा जाने भनेपछि तालमेल सम्भव भएन,’ पत्रमा भनिएको छ ।

पालुङटार र गोरखा नगरपालिका दुबैमा ०७४ मा कांग्रेस उम्मेदवारले मेयर जितेका थिए । वैशाख ३० मा हुने चुनावमा माओवादी–जसपा गठबन्धनका उम्मेदवार र कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादीका उम्मदेवारबीच गोरखामा प्रतिस्पर्धा हुने भएको छ । माओवादी र जसपाले गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा चुनावी तालमेल गरेका छन् । ११ पालिका रहेको गोरखामा अन्यत्र भने दलहरूबाट एकल उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया