मजुवा बस्तीमा माओवादी उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख २२ गते १०:५३

पोखरा ।
तनहुँ र कास्कीको सिमाना कोत्रेपुल पश्चिम पोखरा ३२ मा पर्छ मजुवा बस्ती । मजुवाका झण्डै २ सय घरधुरीसँग जग्गाको लालपुर्जा छैन । ७८ वर्षीय दलबहादुर गुरुङलाई लालपुर्जाको मुख नहेरी मरिने चिन्ता छ ।

Advertisement

गुरुङका अनुसार ०२१÷२२ सालतिर तनहुँको थप्रेकका २५–३० घरले गगनगौंडाका मुखिया चन्द्रबहादुर बस्नेतसँग ५ सय रुपैयाँमा मजुवाको फाँट नै किनेका थिए । पछि त्यो जग्गा दामासाहीले बाँडे । केहीले मात्रै मजुवा झरेर घर बनाएर बसे । ०३२ सालमा नापी आयो । त्यति बेला मालपोत कार्यालयले मजुवामा घर बनाएर बसेकालाई मात्रै लालपुर्जा दियो । बाँकी जग्गा पर्तिमा जनियो ।

अहिले झण्डै २ सय घरधुरीसँग सेतो पुर्जामात्रै छ । धेरै नेताले लालपुर्जा दिने पटक पटक आश्वासन दिए पनि चुनाव जितेर गएपछि फर्किएर नआएको गुरुङले बताए । पैसा तिरेर किनेको जग्गाको पनि लालपुर्जा नहुँदा सुकुम्बासी सरह बस्नुपरेकोमा उनले दुःखमनाउ गरे । भने, ‘न बैंकले धितो राख्छ, न झट्टै बिक्री हुन्छ ।’ बुधबार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार घरदैलोमा पुग्दा उनले यो समस्या सुनाएका हुन् ।

Advertisement

महानगरको मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि पोखरा ३२ मा कांग्रेस र माओवादी केन्द्रले मित्रवत प्रतिस्पर्धा गरेका छन् । माओवादी केन्द्रबाट भुवानीप्रसाद पौडेल वडाध्यक्षका उम्मेदवार छन् । पौडेलले मजुवाको समस्या धेरै पहिलेदेखि बुझेको भए पनि नेतृत्वमा नहुँदा समाधान गर्न नसकिएको बताए । वडाको खुदीखोलामा समेत बाक्लो सुकुम्बासी बस्ती रहेकाले भूमी आयोगमार्फत एकमुष्ठ समस्याको समाधान गर्न पहल गर्ने प्रतिवद्धता उनले जनाए ।

‘यसपल्ट वडामा माओवादीलाई जिताउनुस् । त्यसपछि प्रदेश र संघमा पनि माओवादीले जित्दा यो समस्या समाधान हुन्छ,’ उनले भने । यहाँ माओवादी केन्द्रबाट महिला खुला सदस्यमा गंगादेवी पौडेल, दलित महिला सदस्यमा वसन्ती विक, खुला सदस्यमा अर्जुन मल्ल र गोकुल विक उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया