पोखरामा नेकपा एसका २४ जनाको उम्मेदवारी फिर्ता
पोखरा ।
मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट तथा विभिन्न वडामा गठबन्धनका अरु घटकका उम्मेदवारलाई समर्थन गर्दै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
आफ्नो पार्टीका मेयरका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उनीहरुले उम्मेदवारी निस्क्रिय बनाएको बताएका हुन् । नेकपा एस कास्कीले वडामा सदस्य उठेका पार्टीका उम्मेदवारलाई निस्क्रियताका लागि निर्देशन गरेको थियो ।
२४ उम्मेदवारले आआफ्ना वडामा गठबन्धनका उम्मेदवारलाई समर्थन रहने गरी निस्क्रिय रहने घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता गर्नेमा वडाका खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यका उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयको रेकर्डमा भने उनीहरु उम्मेदवारै हुन्छन् । व्यवहारिक रुपमा मात्रै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । कानुनी हैसियत भने उम्मेदवारकै हुन्छ ।
उम्मेदवारी फिर्ता लिएकामा पोखरा वडा नम्बर १ का खुला सदस्य ऋषिराम पौडेल, पोखरा २ की महिला सदस्य विष्णुमाया अधिकारी राणा, ४ का खुला सदस्य अनिलबहादुर कोइराला, ७ नम्बर वडाका खुला सदस्य नारायणकुमारी अधिकारी, ८ का खुला सदस्य शिवप्रसाद पौडेल, ९ का बुद्धिरानाभाट र शोभा ढकाल, १० का नुना गुरुङ, ११ का कृष्णमान श्रेष्ठ छन् । १२ का डिलाराम लामिछाने र इन्दिरा पन्त, १३ का अज्मुदिन मियाँ र जितबहादुर सुनार, १४ का लालबहादुर विक र पार्वती थापामगर, १६ का मनीष गुरुङ, १८ का चिन्तामणि लामिछाने, २२ का दिनेश बराल, २३ का नारायणप्रसाद पराजुली, २६ की सुकमाया गुरुङ, २७ की संगीता विक, ३२ की सुमित्रा अधिकारी तथा मादी ११ र १२ का क्रमशः साजन तामाङ र सोमनाथ खनालले उम्मेदवारी फिर्ता लिएको नेकपा एस कास्कीका प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया