राजनिति

छोसेरको दिव्यदीप स्कुललाई पहिलो वर्षमै प्लस टू बनाउँछौं

समाधान संवाददाता २०७९ वैशाख २२ गते १९:०९
एमाले उम्मेदवार ः अध्यक्ष पदमा टसी नर्बु गुरुङ र उपाध्यक्ष पदमा छ्युमी बिष्ट

जोमसोम—
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बिजयी भएमा उपल्लो मुस्ताङ स्थित लोमान्थाङको दिव्यदीप स्कुललाई पहिलो वर्षमै प्लस टू बनाईने भएको छ ।सदरमुकाम जोमसोमदेखि करिव एक सय किमी टाढा रहेको दिव्यदीप स्कुलमा कक्षा १० सम्मको पढाई हुँने गर्छ ।त्यहाका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि सदरमुकाम जोमसोम र पोखरा काठमान्डौ धाउन पर्ने अवस्था छ ।
चीनको स्वशासितक्षेत्र तिब्बतसंग सीमा जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा माध्यमिक तहको स्कुल छैन भने लोमान्थाङको दिव्यदीप स्कुलमा मात्र कक्षा १० सम्मको पढाई हुँने गर्छ ।उपल्लो मुस्ताङका विद्यार्थीहरुको समस्यालाई ध्यानमा राख्दै नेकपा एमालेले उपल्लो मुस्ताङमा प्लस टू को कक्षा संञ्चालनमा ल्याउने प्रतिवद्धतापत्रमा समेटेको छ ।भौगोलिक रुपले विकट उपल्लो मुस्ताङमा गरिब तथा बिपन्न जनतालाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक अवस्थाका कारण समस्या पर्ने भएकाले एमालेले जितेमा पहिलो वर्षमै छोसेरको दिव्यदीप स्कुलमा प्लस टू को शिक्षा लागु गर्ने लोमान्थाङ गापाका लागि एमालेबाट अध्यक्ष पदका उम्मेदवार टसी नर्बु गुरुङले जानकारी दिए । दिव्यदीप स्कुल र प्लस टू को अध्ययन गर्ने बिद्यार्थीलाई निशुल्क बस सेवाको समेत व्यवस्था गर्ने उनले बताए ।
एमालेको प्रतिवद्धतामा उपल्लो मुस्ताङमा सर्वशुलभ मूल्यमा नियमित र सहज तरिकाले बस संञ्चालनमा ल्याउने जनाईएको छ । उपल्लो मुस्ताङमा नियमित बस संञ्चालन नहुँदा उपल्लो मुस्ताङी तथा उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई चर्को मुल्यमा यात्रा गर्नुपर्ने बाध्यता छ ।गाउँपालिकाले बजेट छुट्याएरै भएपनि यातायात व्यवसायीसंग सम्झौता गरी सर्वशुलभ नियमित बस सञ्चालनमा ल्याउने एमालेका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
यस्तै,उपल्लो मुस्ताङ धार्मिक ,सांस्कृतिक ,सामाजिक र कलासंस्कृतिले महत्वपूर्ण भएकाले पालिका भित्रका मौलिक कलासंस्कृतिको संरक्षण र स्तरोन्नतिमा जोड दिने उल्लेख गरिएको छ ।उपल्लो मुस्ताङमा पर्यटक लोभ्याउने आर्कषक गुफा ,गुम्बा,मठमन्द्रि र छोर्तेनहरुको संरक्षणमा ध्यान दिने र ऐतिहाँसिक तथा सांस्कृतिक मेला महोत्सवलाई थप आर्कषर्ण तुल्याई अक्सिजन रुमको समेत व्यवस्था मिलाउने एमाले लोमान्थाङको प्रतिवद्धतापत्रमा समेटिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका भित्रको मौलिक भाषा तथा कलासंस्कृतिको लागि सबै गुम्बा बिद्यालयहरुको होस्टेल सेवा चुस्त बनाईने छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ पालिकाबासी सबै नागरिकको स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने,५ वटै वडाहरुका कुटानी पिसानी मिल स्थापना गरी आत्मनिर्भर बनाईने र पशुपालनको हबको रुपमा रहेको नाकापा,छोजोङ र डाजाङलाई हिउँदे चरणको लागि आवास भवन निर्माण गर्ने एमाले लोमान्थाङको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
नेकपा एमालेले लोमान्थाङ गाउँपालिकाको लागि टसी नर्बु गुरुङलाई अध्यक्ष र छ्यूमी बिष्टलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले टसी गुरुङलाई अध्यक्ष र छिरिङ ढोका गुरुङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया