‘कांग्रेसका इमान्दार कार्यकर्ताको मत एमालेलाई’
पोखरा l
चुनाव केन्द्रीत गरी एमालेले पोखराका ३ वडामासभा गरेको छ । वडा नम्बर ११, १२ र २० मा मेयरका उम्मेद्वार कृष्ण थापा, उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङ, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेद्वारको घरदैलोसहित सभा गरिएको हो ।
पोखरा ११ मा भएको सभामा मेयरका उम्मेद्वार थापाले पोखरालाई समृद्ध, वैभवशाली र अन्तर्राष्ट्रिय स्तरको बनाउन ध्यान दिने बताए । उनले समग्र पोखराको विकासका लागि सडक तथा भौतिक पूर्वाधार निर्माणम जोड दिइने उल्लेख गरे । पोखराका मेयर मानबहादुर जिसीको अगुवाइमा विकास निर्माणको अगुवाई भएको चर्चा गर्दै उनले महानगरको ५ वर्षे कार्यकालका राम्रा कामलाई निरन्तरता दिइने सुनाए ।
उनले विगतका अधुरा कामलाई पूरा गर्दै महानगरको योजनाबद्ध ढंगले विकास गरिने प्रतिवद्धता गरे । उम्मेदवार थापाले राम्रा कामका कारण नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताले सूर्यमा मतदान गर्ने दाबी गरे । ‘हामी ४० वर्ष प्रजातन्त्रका लागि लडेका र्छौ । विकास, निर्माण गर्छौ । पोखरामा चिल्ला बाटो, फुटपाथ तथा ट्राफिक व्यवस्थापन गरेका र्छौ,’ उनले भने, ‘कांग्रेसका इमान्दार कार्यकर्ताले नीति सिद्धान्त बेचेर अरुको पछाडि नलाग्नुस् । ढुक्क भएर सूर्यमा मतदान गर्नुस् ।’ उनले पोखरामा मेयर र उपमेयर नउठाएको माओवादी केन्द्रलाई पनि निर्वाचनमा साथ दिन आग्रह गरे ।
उनले मुख्य सहरी क्षेत्रमा सिसी क्यामरा जडानदेखि पार्किङको समस्या हल गर्ने सुनाए । थापाले बागलुङ बसपार्कको स्तोन्नत्ति गर्दै पृथ्वीचोक र लेखनाथको लामिआहालमा बसपार्क निर्माण गर्ने प्रतिवद्धता गरे । पैसाका कारण विकास, निर्माण नरोकिने उल्लेख गर्दै उनले स्रोत र साधन जुटाउने र आन्तरिक राजस्व बढाउने बताए ।
उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङले आफ्नो भर्खरै सकिएको कार्यकालमा न्यायिक, राजस्व परामर्श तथा अनुगमन समितिको काम प्रभावकारी रुपमा गरेको बताइन् । उनले मसिनो ढंगले काम गरी तोकिएको जिम्मेवारी पूरा गरेको दाबी गरिन् । उनले वडामा मेलमिलाप केन्द्र स्थापना नहुँदा न्यायिक समितिको काममा कठिनाई भएको चर्चा गरिन् ।
पोखरा ११ का अध्यक्षका उम्मेद्वार मीनबहादुर गुरुङले वडाका सबै कच्ची सडकलाई क्रमशः पिच गर्ने प्रतिवद्धता गरे । गुरुङले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको अलवा खानेपानीको समस्या समाधान गर्न लाग्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङ, वडा कमिटी पोखरा ११ का उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक सञ्जयकिशोर बास्तोला, सचिव मदनकुमार सुनार लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया