स्थानीय तह निर्वाचन २०७९

पालिका प्रमुखका दाबेदार महिला

सञ्जय रानाभाट २०७९ वैशाख २५ गते १०:३४

पोखरा ।
आसन्न स्थानीय चुनावमा प्रमुख दलले पालिका प्रमुखमा महिलालाई कम मौका दिएका छन् । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट गण्डकीका पालिका प्रमुखमा महिलाको उपस्थिति ज्यादै न्यून देखिएको हो । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये १ महिला हुनुपर्ने कानुनी प्रावधानमा छ ।

Advertisement

तर, पालिका प्रमुखका लागि भने महिलाको संख्या ज्यादै न्यून देखिएको छ । निर्वाचन कार्यालय गण्डकीका अनुसार प्रमुख ३ दलबाट पालिकामा महिलाको उम्मेदवारी १४ जना अर्थात् १६.४७ प्रतिशतमात्रै परेको छ । अझ दलहरुले यस पटकको स्थानीय निर्वाचनमा महिलाको उपस्थिति विगतभन्दा बढी भएको दाबी गरेका छन् ।

गण्डकीमा ८५ पालिका छन् । १ महानगरपालिका पोखरा छ । ५८ गाउँपालिका र २६ नगरपालिका छन् । तीमध्ये प्रमुखमा १५ पालिका प्रमुखको उम्मेदवार महिला बनेका छन् । कांग्रेसले गण्डकीमा ६ जना अर्थात ७.०५ प्रतिशत महिलालाई पालिका प्रमुखमा उम्मेदवार बनाएको छ । यसरी महिलालाई नेतृत्वमा कम हुनुमा अहिलेको गठबन्धन प्रमुख कारण भएको कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले दाबी गर्छन् । ‘महिला नेतृत्व कम हुनुमा अहिलेको गठबन्धन हो । गठबन्धन गर्दा हामीले महिलालाई अगाडि बढाउन सकेनौं,’ उनले भने, ‘आउँदा दिनमा कांग्रेसले महिला नेतृत्वमा ३३ प्रतिशत सुनिश्चित गर्छ ।’

Advertisement

मनाङको नेस्याङ गाउँपालिका प्रमुखमा छिरिङ उङ्मा घले गुरुङ, मुस्ताङको थासाङ गाउँपालिकामा बालकुमारी शेरचन, स्याङ्जाको कालीगण्डकी गाउँपालिमा माया राना, कास्कीको रुपा गाउँपालिकामा गिमाया गुरुङलाई कांग्रेसले प्रमुख उम्मेदवारी बनाएको छ । गिमाया यसअघिको स्थानीय चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार थिइन् । ०७४ को स्थानीय चुनावमा पराजित भएकी उनलाई कांग्रेसले यसपटक अध्यक्षकै उम्मेदवार बनाएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका प्रमुखमा माया रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ । राना यसअघि पनि अध्यक्षमा निर्वाचित भएकी थिइन् । नवलपुरको हुप्सेकोट गाउँपालिका पनि कांग्रेसले लक्ष्मी पाण्डेलाई दोहोर्‍याएको छ । पाण्डे नेपाल महिला संघकी पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

Advertisement

यसरी महिला नेतृत्व कम हुनुमा चुनावी तालमेल मुख्य कारण भएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको तर्क छ । ‘गठबन्धनका कारणले महिला नेतृत्वअगाडि ल्याउन नसकेको हो,’ उनले भने, ‘देश हाक्न सक्ने महिला हुनुहुन्छ । तर, परिस्थिति नै यस्तो भयो कि महिला नेतृत्वलाई अगाडि ल्याउन सकिएन ।’ चुनाव जित्नका लागि पनि कतिपय ठाउँमा पुरुषलाई उठाउनुपर्ने बाध्यताले महिलापछि परेका लामिछानेले बताए । ‘मुलुक हाक्न सक्ने महिला हुनुहुन्छ । महिला नेतृत्वलाई कम आँक्न मिल्दैन । तर, दलको बाध्यताले महिला स्थानीय चुनावमा पछि परे,’ महामन्त्री लामिछानेले भने ।

नेकपा एमालेले गण्डकीका ८५ पालिकामध्ये ५ जना अर्थात ५.८८ प्रतिशत महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ । पर्वतको मोदी गाउँपालिका प्रमुखमा हीराकुमारी शर्मा, म्याग्दीको धौलागिरी गाउँपालिका प्रमुखमा थम्सरा पुन, स्याङ्जाको अर्जुन चौपारी अध्यक्षमा चीनमाया गुरुङ, स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा सीमा क्षेत्रीलाई एमालेले उम्मेदवार बनाएको हो । क्षेत्री यसअघि पनि पुतलीबजार नपालिकाकी मेयर थिइन् । उनी पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् ।

एमालेले गोरखा नगरपालिकामा सम्झना देवकोटालाई मेयरमा उम्मेदवार बनाएको छ । अनेमसंघकी पूर्व जिल्ला अध्यक्ष देवकोटा गोरखाकी प्रभावशाली महिला नेतृ हुन् । यसरी गठबन्धनका नाममा क्रान्तिका उपलब्धिलाई ध्वस्त पार्न खोजिएको एमालेका गण्डकी प्रदेश सचिव धनज्जय दवाडीले बताए । ‘महिलाको प्रतिनिधित्वलाई अपहेलना गरिँदै छ । महिलाको क्षमताको कदर भएन,’ दवाडीले भने ।

एमालेले पनि महिलाको क्षमतालाई राम्रोसँग पहिचान गर्न नसकेको उनको भनाइ छ । ‘महिलाको क्षमताको पहिचान हुन सकेन । अर्को कुरा महिलाले पनि प्रमुखमा उठ्न नखोजे जस्तो देखियो,’ उनले भने, ‘हाम्रो पितृसतात्मक सोचका कारणले पनि महिलापछि परे ।’

माओवादी केन्द्रले गण्डकीमा ३ जना अर्थात ३.५२ प्रतिशत महिलालाई पालिका प्रमुखमा उम्मेदवारी बनाएको छ । स्याङ्जाको भीरकोट नगरपालिका अध्यक्षमा रेखा बस्याल, कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा हरिमाया तिमिल्सिना र म्याग्दीको रघुगंगा गाउँपालिकामा मीना विकलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।

कास्कीको मादी गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धन हुँदा दुवै पदमा पुरुष उम्मेदवार आए । गठबन्धनका दलले महिलाको भाग खोसेका छन् भने प्रमुख प्रतिपक्ष एमालेले प्रमुखमा निकै थोरैलाई अवसर दिएको छ । नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ । तर उम्मेदवारको टिकट दिँदा दलहरुले समावेशिताको सिद्धान्तलाई बेवास्ता गरेका छन् । राज्यका निकायमा समावेशी सिद्धान्तका आधारमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्छ ।

क्रस प्रमुखका पदका महिला उम्मेदवारको नाम पार्टी पालिका
१. छिरिङ उङ्मा घले गुरुङ
कांग्रेस नेस्याङ गाउँपालिका (मनाङ)
२. बालकुमारी शेरचन
कांग्रेस थासाङ गाउँपालिका (मुस्ताङ)
३. माया राना
कांग्रेस कालीगण्डकी गाउँपालिका (स्याङ्जा)
४. गिमाया गुरुङ
कांग्रेस रुपागाउँपालिका (कास्की)
५ .माया राना
कांग्रेस म्याग्दे गाउँपालिका (तनहुँ)
६. लक्ष्मी पाण्डे
कांग्रेस हुप्सेकोट गाउँपालिका (नवलपुर)
७. हीराकुमारी शर्मा (अध्यक्ष) एमाले मोदी गाउँपालिका (पर्वत)
८. थम्सरा पुन (अध्यक्ष)
एमाले धौलागिरी गाउँपालिका (म्याग्दीे)
९. चीनमाया गुरुङ (अध्यक्ष) एमाले अर्जुन चौपारीे (स्याङ्जा)
१०. सीमा क्षेत्री (मेयर)
एमाले पुतलीबजार नगरपालिका (स्याङ्जा)
११. सम्झना देवकोटा (मेयर)
एमाले गोरखा नगरपालिका (गोरखा)
१२. रेखा बस्याल (अध्यक्ष)
माओवादी केन्द्र भीरकोट नगरपालिका (स्याङ्जा)
१३. हरिमाया तिमिल्सिना (अध्यक्ष) माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका (कास्की)
१४. मीना विक
माओवादी केन्द्र रघुगंगा गाउँपालिका (म्याग्दी)

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया