चुनावमा इन्धन अभाव नहुने

समाधान संवाददाता २०७९ वैशाख २५ गते ११:१६

काठमाडौं l
नेपाल आयल निगमले स्थानीय चुनावका लागि सबै डिपोहरुमा पेट्रोलियम पदार्थ मौज्दात राख्न थालेको छ । स्थानीय तह चुनावको मतदान आगामी शुक्रबार हुँदैछ । निर्वाचन अवधिका लागि अभाव हुन नदिन पेट्रोलियम पदार्थ अभाव हुन नदिन ‘स्टक’ मा रहने निगमले जनाएको छ ।

‘निर्वाचनमा पेट्रोलियम पदार्थको खपत बढ्छ । हामी सबै डिपोहरुमा स्टक गर्दैछौं,’ निगमका सह प्रवक्ता पुष्कर कार्कीले भने । हाल पेट्रोलियम पदार्थ दैनिक आयात भइरहेको छ । रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट पनि आइरहेको छ । चुनावको समयमा धेरै सवारीसाधन प्रयोग हुन्छ । त्यति बेला इन्धनको अभाव भयो भने झन समस्या हुन सक्छ । यसले गर्दा पूर्व तयारी सुरु गरेको कार्कीले बताए । ‘चुनाव अघि ४८ घण्टासम्म सीमा बन्द हुने भएकाले अहिलेदेखि स्टक थालेको हो,’ उनले भने, ‘निगमसँग अहिले ७६ प्रतिशत पेट्रोलियम पदार्थको स्टक छ । पाइपलाइनमा रहेका बुलेटहरुसहित निगमको स्टक शतप्रतिशत हुनेछ ।’

हाल निगमसँग ६ हजार ४ सय ५२ किलोलिटर पेट्रोल स्टकमा छ भने ३७ हजार २ सय किलोलिटर डिजल र १५ सय ५२ किलोलिटर मट्टितेल छ । अहिले दैनिक २ हजार किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेलको खपत भइरहेको निगमले जनाएको छ ।

Advertisement

निगममा छैन छुट्टी
सरकारले स्थानीय चुनावको लागि ५ दिन बिदा दिने निर्णय गरेको छ । तर निगमका कार्यालयहरु बिदा नहुने सहप्रवक्ता कार्कीले बताए । निगमले समय अनुकूलताअनुसार सबै क्षेत्रका डिपोहरु सञ्चालन गर्ने तयारी गरेको छ । यसले गर्दा स्थानीय चुनावको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने कार्कीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया