नष्ट हुन्छाैं, भ्रष्ट हुदैनाैं : लिङ्देन

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई नष्ट हुन दिने तर भ्रष्ट हुन चाहिँ नदिने बताएका छन् । शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको चुनावी आमसभामा लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिलाई चुनावमा हराउन आह्वान गरे । ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु,’ उनले भने ।
लिङ्देनले आफू बाँचुञ्जेल भ्रष्टाचारविहिन राजनीतिमा समर्पित हुने बताए । ‘मलाई कुनै बेला माओबादीले यो मर्यो भनेर मरनासन्न हुनेगरि कुटपिट गरेर बाटोमा फालेका थिए । तर भाग्यले मलाई बचायो । अहिले भर्खरैको कुरा गर्ने हो भने पनि म दोस्रो जीवन बाँचिरहेको छु,’ उनले भने–‘मलाई मेरो यो दोस्रो जीवन त्यसै खेर फाल्नु छैन ।’
लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकै सबैभन्दा ठूलो पार्टीको आकार लिने दाबीसमेत गरे । ‘यो मैले त्यसै भनेको छैन । दिनप्रतिदिन पार्टीप्रति युवा पुस्ता र जनताको आकर्षण बढेको तथ्याङ्कले नै यो कुराको पुष्टि गर्छ,’ उनले भने । यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेल प्रत्यासी छन् ।
तपाईको प्रतिक्रिया