पोखरा आसपास ५ सेटलाइट सिटी

समाधान संवाददाता २०७९ वैशाख २५ गते १४:५५

पोखरा l
कास्कीमा भूगोलका दृष्टिले देशकै ठूलो महानगर पोखरा बन्यो । राजनीतिक निर्णयले बनेको महानगरमा थपिएका ग्रामीण वडाहरु जनप्रतिनिधिको ५ वर्षे कार्यकालमा अपेक्षित विकास भएनन् । सडक, खानेपानी, यातायात, स्वास्थ्य, शिक्षाका समस्या ज्यूका त्यु रहे ।

Advertisement

पोखरा महानगरपालिकाको नेतृत्वका लागि चुनावी दौडमा रहेका गठबन्धनका उम्मेदवारले यी समस्याको समाधान ५ वर्षभित्र सम्भव रहेको दाबी गरेका छन् । उनीहरुले यसको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरु सक्षम र योग्य रहेको बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’को अवधारणसँग तालमेल गरी ५सेटलाइट टाउन निर्माण गरिने मेयरका उम्मेदवार धनराज आचार्य बताउँछन् । प्रत्येक वडाको सेवा प्रविधियुक्त बनाउने प्रतिवद्धता गरेका उनले अधिकांश सेवा वडाबाटै दिने वाचा गरेका छन् ।

आचार्यले भने, ‘वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउने छौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोड स्तरोन्नति गरिने पनि बताए । आचार्यले फरक धार र विचार बोकेका पार्टीहरुबीच साना दुखले गठबन्धन नगरिएको बताए । लामो राजनीतिक संघर्षमार्फत प्राप्त उपलब्धिको रक्षाका साथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पनि दलहरु बीचको समीकरण आवश्यक रहेको उनले बताए ।

उपमेयर उम्मेदवार कोपिला रानाभाटले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनको जित आवश्यक रहेको बताइन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले अपिल गरिन् ।

पोखराको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोस योजना आफूहरुसँग रहेको उनको भनाइ छ । उनले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजनामार्फत व्यवस्थित गरिने उल्लेख गरिन् ।

Advertisement

मेयर उम्मेदवार आचार्यले पोखराको विकासका लागि थिंक ट्यांक निर्माण गरी नीति तथा योजनाहरु तय गर्ने बताएका छन् । पोखराका उद्योगी, व्यवसायीसँगको छलफलमा उनले विज्ञहरुको टिम बनाएर योजना तथा विकासका न्यूनतम मापदण्ड तय गर्ने बताएका हुन् ।

आचार्यले ५ दलीय गठबन्धन निर्वाचनका लागि मात्र नभई सिस्टम जोगाउनका लागि भएको दाबी गरेका छन् । आफ्नो गृह वडा पोखरा ३३ को घरदैलोमा उनले गणतन्त्र जोगाउनका लागि गठबन्धन आवश्यक परेको बताए । ‘हामीले दुःख मेहनत गरेर ल्याएको गणतन्त्र नै धराप पार्नेगरी तत्कालीन प्रधानमन्त्रीले चालेको कदमको विद्रोह गरेर ५ दलीय गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमानको सरकार जोगाउनका लागि भएको गठबन्धन निर्वाचनका लागि होइन व्यवस्था जोगाउनका लागि भएको हो यसलाई तपाईहरुले बुझ्नुपर्ने हुन्छ ।’

आफ्नै वडा भए पनि आफ्नालाई काखा अरुलाई पाखाको भावना नराखी सवै ठाउँमा समान रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘भरतपोखरीको मौलिक समस्या छन् त्यसको समाधान गर्ने छौं, कास्कीका अधिकांश भेगमा पानीको अभाव छ,’ उनले भने, ‘विकास निर्माणका काममा सबैलाई साथमै हिडाउने छु ।’

उपमेयरकी उम्मेदवार रानाभाटले ज्येष्ठ नागरिकका लागि विवा सेवा उपलब्ध गराउन भवन निर्माण योजनाअघि बढाउने बताइन् । गठबन्धनले जितेमा महिला, बालबालिका, दलित, अपाङ्गसँगै ज्येष्ठ नागरिकको हितमा कार्यक्रम ल्याउने जनाइन् ।

तपाईको प्रतिक्रिया