पार्टी नहेरौं, गठबन्धनलाई जिताऔं : गुरुङ

पोखरा l
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मादीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । शनिबार मादी १० भाचोकमा आयोजित गठबन्धनको चुनावी आमसभामा गुरुङले यस्तो बताएका हुन् ।
गुरुङ ०६४ सालमा कास्की १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । ‘पार्टीको निर्णयका कारण निर्वाचन क्षेत्र यो हुन सकेन,’ उनले भने, ‘मादीको विकास, निर्माण र रक्षाको लागि पूर्व पश्चिम जहाँ पुगे पनि होस्टेमा हैसे गर्न लागि रहनेछु ।’
मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गर्दै उनले तलदेखि माथिसम्म गठबन्धन सरकार बने विकासको ढोका खोल्ने दाबी गरे । विकासका लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको उनको भनाइ छ ।
गुरुङले संविधानको रक्षाका लागि गठबन्धन गरिएको जिकिर गर्दै गठबन्धनकै कारण संविधान रक्षा भएको दाबी गरे । ‘ओलीले जंगेले बोलेपछि बाल्यो बोल्यो भने जस्तो गर्नु भयो । हामीले विरोध गर्यौ तर उहाँले दुई दुई पटक संसद विघटन गर्नु भयो । ओलीको सरकार रहँदा सबै सम्पत्ति सक्न लाग्नु भयो । ओलीको विकल्प नखोजे डोमोक्रेसी सकिने खतरा बढ्यो,’ उनले भने, ‘राष्ट्रियता खतरामा परेपछि अन्ततः ओली प्रवृति अन्त गर्न गठबन्धन गरेका हौं । गठबन्धन सरकारले गर्दा संविधान बचेको छ ।’
अहिले स्थानीय तह निर्वाचनको चुनाव हेर्दा सामान्य देखिए पनि दुई विचारबीचको लडाई हुने उनले बताए । प्रतिगमनलाई दुरुत्साहित गरेर अग्रगमनलाई जिताउन गठबन्धनका उम्मेद्वारलाई मत हाल्न उनले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता कृष्ण केसीले विचारले फरक भए पनि मादीको विकास पूर्वाधार निर्माणमा देव गुरुङ र कांग्रेसको पालमा धेरै काम भएको दाबी गरे । ‘राजनीतिक रुपमा बिमति भए पनि विकासका पूर्वाधार बनेका छन् । यसको रक्षा गर्नका लागि पनि गठबन्धनको जरुरी छ,’ उनले भने, ‘कसैले नठान्नुस् लालबहादुर गुरुङ माओवादीका हुन् । देवी जंग गुरुङ कांग्रेसका । उहाँहरु गठबन्धनको नेता हो । यो ठाउँको अभिभावक ठान्नुस् । विकासले गति लिनेछ ।’
मादीको विकासका लागि गठबन्धन बाहेकका उम्मेद्वारको विकल्प नरहेको उनले सुनाए । अहिले राम्रो गर्छु भनेर ढाट छल गर्नेसँग सजग रहनसमेत उनले सुझाए । कार्यक्रममा एमाले परित्याग गरेर ११ जना कांग्रेस प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया