पोखरा वडा नम्बर १ को स्मारिका सार्वजनिक

समाधान संवाददाता २०७९ वैशाख २६ गते २१:२०

पोखरा, २६ वैशाख
पोखरा महानगरपालिका वडा नम्बर १ को ५ वर्षे कार्यकालमा भए गरेका काम तथा गतिविधि समेटेर स्मारिका प्रकाशन भएको छ । मेयर मानबहादुर जिसीले आइतबार उक्त स्मारिका विमोचन गरे । उनले गएका ५ वर्ष पोखराका जनप्रतिनिधिले महानगरको जग बसालेको बताए ।

Advertisement

वडाध्यक्ष शारदाकुमारी पराजुलीले आफूहरुले भ्याएसम्मका काम गरेको र जनअपेक्षालाई सक्दो पूरा गर्ने प्रयास गरेको सुनाइन् । स्रोत साधन अभाव, कर्मचारीको पटकपटकको फेदबल लगायत चुनौती आफूले बेहोरेको पनि बताएन् । उनले ५ वर्षमा वडामा ८ जना सचिव फेरिएको जानकारी दिइन् ।

लेखक झलक सुवेदीले आउने सय वर्षपछि इतिहास हेर्न चाहनेका लागि स्मारिका काम लाग्दो हुने बताए । सार्वजनिक संस्थाका अभिलेखले आउने दिनमा सेवा प्रवाह गर्न सजिलो हुने उनको भनाइ थियो । ‘आउने जनप्रतिनिधिलाई कहाँबाट जानकारी लिने भन्ने भएन, स्मारिकाले गर्दा सजिलो हुने भयो,’ उनले भने ।

Advertisement

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विष्णु भण्डारीले स्मारिका ऐतिहासिक दस्तावेजका रुपमा आएको बताए । उनले स्मारिका प्रकाशन गर्नु पारदर्शिता र सुशासनका दृष्टिले उत्तम कार्य भएको विचार राखे । ‘आगामी दिनमा योजना निर्माण र कार्यान्वयनमा स्मारिकाले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।

पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले स्मारिका वर्षैपिच्छ निकाल्दा धेरै गतिविधि समेट्न सकिने अनुभव सुनाए । वडा सदस्य रुद्रप्रसाद च्वाईंले पनि अनुभव साटेको कार्यक्रममा स्थानीयले अहिलेका जनप्रतिनिधिले पद छोडे पनि वडाका लागि काम गर्न नछोड्न सुझाव दिए ।

Advertisement

स्मारिकामा वडाध्यक्ष शारदा पराजुलीको नेतृत्वका जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण काम, सबै बैठकका निर्णय लगायत जानकारीहरु समेटिएको छ ।

तपाईको प्रतिक्रिया