पोखराको ऋणी छु, विकास गरेर तिर्छुः ओली

पोखरा l
एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरासँग आफ्नो भावानात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन् । २०४० सालतिर कास्की जेलमा बसेको स्मरण गर्दै उनले पोखराप्रति आफूमा ऋणीभाव रहेको पनि बताए ।
पोखरामा सोमबार आयोजित आमसभालाई सम्बोधनका क्रममा ओलीले आफ्नो पोखरा बसाइ सम्झिए । ‘३ वर्ष म यहाँ बसेको छु । मलाई आफ्नो ठाउँजस्तो लाग्छ,’ उनले भने, ‘पोखराको ऋण कसरी तिर्ने भनेर मलाई ऋणी भाव भइरहन्छ । विकास गरेर पोखराको ऋण तिर्छु । देशैलाई आधुनिक बनाएपछि पोखराको ऋण पनि त्यसैमा तिरिन्छ भन्ने मैले विश्वास गरेको छु ।’
जेल बस्दा यहाँको जेठोबुढोसँग परिचित भएको ओलीले सुनाए । ‘पहिलो फर्सी फल्यो भने मलाई जेलमा पु¥यादिनुहुन्थ्यो । पहिलो घिरौला फल्यो भने, पहिलो साग टिप्दा मलाई जेलमा पुर्यादिनुहुन्थ्यो । ती मेरा अभिभावकहरुसँग कृतज्ञ छु,’ ओलीले भने, ‘४ वटी स्पेसल आमाहरु हुनुहुन्थ्यो । अरुले भेट्न नपाउँदा पनि ती स्पेसल ४ वटा स्पेसल आमाहरुले भेट्न पाउनुहुन्थ्यो । मैले ३ वर्षमा आमा गुमाएको थिएँ । पोखरामा हुँदा मलाई आमाको माया मिल्यो ।’
ओलीले जनताले दिएको भोट सुरक्षित गर्न एमालेका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । ओलीले मतपेटिकामै गडबडी गरी एमालेलाई हराउने सम्भावना औंल्याए । ‘जनताले भोटमात्र हालेर हुँदैन । जबसम्म परिणाम आउँदैन, तबसम्म नसुत्ने ननिदाउनेमात्र होइन, आँखा पनि झिमिक्क पार्नु हुँदैन,’ ओलीले भने । उनले ५ दलीय गठबन्धनले भोटले नभएर मतपत्र च्यातेर, चपाएर र निलेर जित्न खोज्ने आरोप लगाए ।
सत्ता गठबन्धन अनेक तिकडम गरी चुनाव जित्ने ध्याउन्नमा रहेको दाबी गर्दै उनले एमालेलाई लोकतन्त्र र संविधानलाई समेत जिताउने जिम्मेवारी रहेको बताए । उनले धाँधली हुन सक्ने, मतगणनामै तलमाथि हुन सक्ने आशंकासमेत गरे । ‘पशुपतिमा गयौं भने फूलपाती लिएर जाँदा बाँदरले खोसेर लान सक्छ । त्यहाँ एउटामात्र बाँदर हुन्छ । तर, मतगणनाका बेला पाँच÷पाँच वटा बादर आउँछ सक्छन्,’ ओलीले व्यंग्य गरे ।
५ दलप्रति जनताको आकर्षण नरहेको उनको जिकिर छ । ‘हिजो ५ दलकोे सभा पोखरामा भयो,’ उनले भने, ‘हाम्रा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारभन्दा केही बढी मान्छेमात्र जम्मा भए ।’ जनताको समर्थनले एमालेले जितिसकेको उल्लेख गर्दै उनले औपचारिकताका लागि ३० गतेसम्म पर्खिनुपरेको तर्क गरे ।
एमाले अध्यक्ष ओलीले संविधान र देशको रक्षाका लागि निष्पक्ष निर्वाचन गराउन निर्वाचन आयोगलाई उनले आग्रह गरे । उनले भने, ‘३० गते एमालेलाई मत दिनस्, पोखराको विकासको जिम्मेवारी एमालेको भयो ।’ उनले गठबन्धनलाई संविधान र लोकतन्त्रको कलंकको संज्ञा दिए । ‘यो झाडीमा जन्मेको गठबन्धन हो । देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक । कलंकलाई जनताले साथ दिँदैनन्,’ उनले भने ।
नेपालमाथि कटाक्ष
एमालेका अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई पोखरामा पनि कटाक्ष गर्न भ्याए । सत्ता गठबन्धनको आइतबार पोखरामा भएको सभामा नेपालले अरुको शक्ति नस्वीकारे कांग्रेसको अवस्था पनि ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।
त्यसको जवाफ फर्काउँदै ओलीले वैशाख ३० गतेपछि कसको शक्ति कति भन्ने जनताले देखाइदिने जनाए । उनले भने, ‘एमालेको १५ वर्ष रस चुसेर, काँधमा चढेर २१ महिना प्रधानमन्त्री भएको मान्छेले एमाले सिध्याउछु रे’, ओलीले भने, ‘कांग्रेसलाई धम्क्याए जस्तो हो ? वैशाख ३० गतेपछि को खतम हुन्छ, त्यो कुरा जनताले देखाउँछन् ।’
अहिलेको सरकार संसदबाट नभएर परमादेशबाट जन्मेकाले अलोकतन्त्रिक ढंगले सञ्चालन भएको ओलीले जिकिर छ । एमालेले सत्तामा टेकेपछि विकासका काम तीव्र गतिमा हुने उनको दावा छ । उनले भने, ‘स्थानीय चुनाव सँगै प्रदेश र संघका चुनाव पनि हामी जित्छौं, सरकार बनाउँछौं । त्यसपछि देशलाई फेरि विकासको रफ्तारमा लैजान्छौं ।’
तपाईको प्रतिक्रिया