पहिला रोजगारी अनि भोट

समाधान संवाददाता २०७९ वैशाख २७ गते ११:२१
????????????????????????????????????

राकेश शर्मा
म्याग्दी l

Advertisement

स्थानीय तह निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । यसै समयमा उम्मेदवारले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधूप बिहानै सुरु भएर राति अबेरसम्म चल्ने गरेको छ ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताले बजारभन्दा अहिले गाउँ केन्द्रित अभियानलाई प्राथमिकता दिएका छन् । उम्मेदवारले आफूलाई योग्य देखाउन प्रयत्न गरेका छन् । यसपालि गाउँको अगुवा, परिवारका सदस्य र साथीसंगी बीचमा पनि कसलाई भोट दिने र किन दिने भन्ने विषयमा छलफल हुने गरेको मतदाता बताउँछन् र जुनसुकै पार्टी भए पनि ‘हाम्रोलाई नभएर जसले रोजगारी दिन्छ, उस्लाई भोट दिन्छौँ’ भन्ने सोचमा भएको बताउँछन् धवलागिरी गाउँपालिका ४ मुदीका प्रेम पुन ।

३२ वर्ष पुगेका पुनको घरको आर्थिक अभाव र पारिवारीक जिम्मेवारीका कारण सानै उमेरमा रोजगारीका लागि साउदी पुगेका थिए । गाउँ फर्केर केही गर्छु भनेर गाउँ आएका पुन अहिलेसम्म पनि आर्थिक उपार्जनको दरिलो माध्यम भेटेका छैनन् । ‘चुनाव आएको छ, अहिले नेताहरु गाउँमा आएका छन् तर उनीहरुले घोषणापत्र पढ्दा आनन्द आउने तर रोजगारीका लागि कुनै पनि योजना लेखेका छैनन्,’ पुनले भने । गाउँमा युवा अहिले सचेत भएकाले प्रलोभनमा नपर्ने अन्नपूर्ण गाउँपालिका ३ दानाका गंगाबहादुर थापा बताउँछन् ।

‘पहिले जस्तो तरिको यस पटक कसैको लैलैमा लागेर कुनै युवाले भोट दिदैनन् गाउँमा हुने हरेक पाटीको कार्यक्रममा सहभागी भएका छौँ, जसले रोजगारीको अवसर दिने योजना लिएका छन् उनीहरुलाई हाम्रो भोट जान्छ,’ थापाले भने । दलका उम्मेदवार यस पटक पनि रहरलाग्दा एजेन्डा लिएर चुनाबी मैदानमा उत्रिएका छन् । तर उनीहरुसँग ठोस खाका छैन । कतिपय अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधि चुनावी मैदानमा उत्रिरहँदा उक्त कार्यकालमा किन जनताको अवस्था सुधार गर्न सकिएन भन्ने प्रश्नको जवाफ दिन मुस्किल परेको छ ।

Advertisement

चुनावी घोषणापत्रमा रोजगार दिने, शिक्षा, स्वास्थ्य र जनजीविकालाई सम्बोधन गर्ने घोषणा गरे पनि चुनाव जितेपछि आफ्ना कार्यकर्तालाई मात्रै केन्द्रमा राखेर बजेट परिचालन गर्ने परिपाटीले दलका घोषणापत्रमाथि विश्वास गरिहाल्ने अवस्था नरहेको स्थानीय बताउँछन् । अधिकांश उम्मेदवारले सडक कालोपत्रसहित स्तरोन्नति गर्ने, शिक्षाको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्ने, रोजगार सिर्जना गर्ने घोषणा गरेका छन् । तर उनीहरुले ठोस खाकासहित मत माग्न सकिरहेका छैनन् ।

म्याग्दीमा ६ स्थानीय तहमध्ये ४ गाउँपालिका अध्यक्ष दोहोरिएर उम्मेदवार बनेका छन् । १७ वटा वडाका वडाध्यक्ष फेरि चुनावी मैदानमा आएका छन् । जिल्लामा उम्मेदवार बनेका विभिन्न पाटीका उम्मेदवारले घोषणा पत्रमा रोजगारीदेखि एकल पुरुष भत्ता, गाउँको विकासदेखि चुलोको सुधारसम्मका योजना घोषणा पत्रमा समावेश गरेका छन् ।

जिल्लाको ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २ सय ३७ पदका लागि ७ सय १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित ३ सदस्य माओवादी केन्द्रबाट र १ सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध भएका छन् । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगंगा गाउँपालिका ६ वडामा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनाबी मैदानमा उत्रिएका छन भने नेकपा (एकीकृत समाजवादी)ले चुनाबी तालमेल नभएपछि जिल्लाभरमा तीन पदबाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया