कास्कीमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान स्थलमा

सञ्जय रानाभाट २०७९ वैशाख २७ गते १९:५०

पोखरा ।

निर्वाचन सामग्रीसहित कास्कीमा २ हजार ६ सय ८५ कर्मचारी स्थानीय चुनावमा खटिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपेटिका, मतपत्र लगायत आवश्यक समाग्रीसहितका कर्मचारी कास्कीको पोखरा महानगरका ३३ वटै वडासहित कास्कीका मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका मतदानस्थलतर्फ मंगलबार प्रस्थान गरेका हुन् ।


निर्वाचन कार्यालयले मतदान स्थलमा आवश्यक पर्ने ६४ वटा सामग्रीसहित कास्कीका सबै मतदान केन्द्रमा कर्मचारी पठाइसकेको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए । ‘निर्वाचन कार्यालयलयले मतदान स्थलमा आवश्यक पर्ने सियोदेखि सलार्इंसम्मका ६४ प्रकारका सामग्री राखेको छ,’ पराजुलीले भने, ‘जसमा स्वस्तिक छाप, लाहा ४ थानको १ प्याकेट, मतपेटिका सुरक्षण सिल, मतपेटिका स्टिकर, स्टयाम्प प्याड, मतपेटिका ८५ लिटरको, प्लास्टिकको बोरा, थैलो, कोरा कपडा र कोरा कपडाको थैली छन् ।’

Advertisement


पराजुलीका अनुसार एउटा मतदान स्थलमा बढीमा १ हजार ६५ मतदाता छन् । निर्वाचन आयोगले एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी खटाएको पराजुलीले बताए । जसमा ३ जना स्वयंसेवक, ५ कर्मचारी छन् । कास्कीका ५ पालिकाका केन्द्रमा कर्मचारीले नियुक्तिसहित निर्वाचन सामग्री बोकेर मतदान केन्द्र हिँडेका हुन् । ‘मंगलबार निर्वाचन कार्यालयबाट सबै मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी खटाइएको छ । बुधबार मतदानका बेला आवश्यक पर्ने बुथ निर्माण हुने छन्,’ उनले पराजुलीले भने । १ हजारसम्म मतदाता हुने केन्द्रमा १ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत हुने छन् ।
कास्कीमा ३ सय ३६ मतदान केन्द्र छन् भने १ सय ५० मतदानस्थल रहेको पराजुलीले बताए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया