स्वस्तिक छापदेखि सलाईसम्म निर्वाचन सामग्री !

सञ्जय रानाभाट २०७९ वैशाख २७ गते १९:५६

सञ्जय रानाभाट
पोखरा ।
निर्वाचन आयोगको कार्यालय प्रदेश कार्यालय परिसरमा मंगलबार निकै भिडभाड थियो । आँगनको कुनाकुनासम्म समूहसमूहको भिड लागेको थियो । कोही झोला पोको पार्दै थिए । कोही सामान गन्दै । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरु थिए ती । जसले मंगलबार निर्वाचन आयोगको पोखरा कार्यालयबाट निर्वाचन सामग्री बुझेका छन् ।

Advertisement


आउँदो निर्वाचनका लागि ६४ प्रकारका सामान प्रयोग हुने जानकारी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । २०७४ सालको निर्वाचन प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भने त्यसभन्दा धेरै सामग्री थिए । त्यो चुनाव हिउँदका बेला भएको थियो । यसपालि बर्खा नलाग्दै निर्वाचन हुँदैछ ।


निर्वाचनका लागि ६४ सामग्रीको सूचीको पहिलो नम्बरमा स्वस्तिक छाप छ । कर्मचारीहरु सबैले मंगलबारै मतपत्र भने बुझेनन् । गाउँपालिकातिर खटाइएका कर्मचारीहरुले भने मतपत्र पनि लगेका छन् । निर्वाचन सामग्रीमा स्टाम्प प्याड मसी, लाहा, छेकबारा, रबर म्याट, मार्कर कलम, पुसपिन, क्लिप पिन, स्केल, स्टापलर मेसिन, स्टापलर पिन, ग्लुस्टिक सोसर, पन्चिङ मेसिन जस्ता सामग्री छन् । सेनिटाइजर, मास्क, औषधि लगायत सामग्री पनि यसपालि राखिएको छ । योभन्दा अघिका निर्वाचन भने कोभिड १९ को महामारी आउनुअघि भएका थिए । त्यति बेला सेनिटाइजर र मास्क लगायत सामग्री हुँदैनथे ।


निर्वाचन सामग्रीमा सलाई, सियो र कैची पनि ? निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने मतपेटिका छोप्ने कपडा सिलाउन सियो धागो चाहिने बताउँछन् । भन्छन्, ‘लाहा पोल्न सलाई चाहियो ।’ मतदान केन्द्र निर्माण गर्दा प्रयोग हुने डोरी लगायत सामग्री काट्नका लागि कैची पनि समावेश गरिएको छ ।


मतदान केन्द्रमा भित्र, बाहिर, महिला र पुरुष लेखिएका बोर्ड हुनेछन् । ती बोर्ड पनि निर्वाचन सामग्रीमा छन् । हातहतियार निषेध, धूमपान निषेध जस्ता सूचना पनि मतदान केन्द्रमा टाँसिने छ । मतदान स्थलमा आवश्यक सामग्रीमा निर्वाचन कानुन, निर्वाचन आचारसंहिता पनि छ । कुनै विवाद भइहाले कानुन तत्काल हेर्नका लागि निर्वाचन सामग्रीमा तिनलाई समेटिएको छ ।
निविदा मतपत्र राख्ने खाम निर्वाचन सामग्रीमा परेको छ । कसैले कुनै मतदाताको नाममा पहिल्यै मत खसालिदिएको अवस्थामा सक्कली मतदातालाई मतदानको अवसर दिइन्छ । तर त्यो मतलाई निविदा मत भनिन्छ । त्यो मतपत्र मतपेटिका नखसाली छुट्टै खामा राखिन्छ । मत गणना गर्दा दुई उम्मेदवारको बराबर मत आए निविदा मत खोलेर गणना गरिन्छ । अन्यथा उक्त मत गणना हुँदैन ।

Advertisement


वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । पोखरामा २ लाख ७ हजार ७०५ जना मतदाता छन् । कास्कीमा १८५ मतदानस्थल र ३३६ मतदान केन्द्र छन् । तिनमा २६८५ कर्मचारी खटाइएको जानकारी प्रदेश निर्वाचन अधिकारी पराजुलीले जानकारी दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया