प्रमिला कुँवर
पोखरा ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम अन्न्पूर्ण आधारभूत विद्यालय मतदान केन्द्रमा महिलामात्र कर्मचारी खटाइएको छ । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाउने भनेर योजना बनेअनुसार अन्नपूर्ण आवि केन्द्रमा महिला मात्र खटाइएको निर्वाचन अधिकृत कार्यालय पोखराका अधिकृत हुमनाथ पराजुलीले बताए ।
उक्त मतदान केन्द्रमा जिल्ला अदालत शाखा प्रमुख सविता ढुंगाना मतदान अधिकृत छिन् । प्रदेश निर्वाचन कार्यालय नायब सुब्बा शर्मिला रानाभाट सहायक मतदान अधिकृत छिन् । सहायक कर्मचारीमा जिल्ला अदालतकी कर्मचारी कविता खनाल, पोखरा महानगरपालिकामा कार्यरत प्रतिभा गौतम र सहयोगी कर्मचारीमा मनमाया कुमाललाई खटाइएको पराजुलीले जानकारी दिए ।
उनीहरुले मंगलबार नियुक्ति लिएका छन् । निर्वाचन आयोगको कार्यालयबाट निर्वाचन सामग्री पनि बुझेका छन् । बुधबार मतदानका लागि बुथ तयार गर्नेछन् । मतदान अधिकृत ढुंगानाले ऐन नियम भित्र रहेर काम गर्नुपर्ने भएकाले काम गर्न गाह्रो नहुने बताइन् । ‘महिलाले पुरुषले जति गर्न सक्दैनन् भन्ने यो भ्रम मात्र हो, कुनै पनि कार्यमा ज्ञान हुनुपर्छ महिला पुरुष भन्ने हँुदैन,’ उनले भनिन् ।
पोखरामा अधिकृतदेखि सबै महिला खटाइएको यो मात्र एउटा मतदान केन्द्र हो । पोखरामा २४४ मतदान केन्द्र छन् । पोखरामा २ लाख ७ हजार ७ सय पाँच मतदाता छन् ।
निर्वाचन आयोगको प्रदेश कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ । जिल्लामा १८५ वटा मतदान स्थल छन् । ३३६ मतदान केन्द्र छन् । बढीमा १ हजार ६५ जना मतदाता हुने गरी एउटा मतदान केन्द्र तयार भएको जानकारी प्रदेश निर्वाचन अधिकारी पराजुलीले जानकारी दिए । कास्कीमा एउटा मतदान स्थलमा बढीमा ६ वटा केन्द्र छन् ।
एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ सय स्वयंसेवक परिचालित रहेको जानकारी सूचना अधिकारी न्यौपानेले दिए । त्यस बाहेक सुरक्षाकर्मीहरु परिचालित हुन् छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी हुनेछन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा राम मावि सिमलचौर केन्द्रमा महिला कर्मचारीमात्रै खटिएका थिए ।
मतदान अधिकृत लगायत कर्मचारी टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुध र बिहीबार मतदाता परिचयपत्र वितरण हुने छ । नयाँ संविधान जारी भएपछि संघीय गणतन्त्र नेपालमा दोस्रोपटक स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ । स्थानीय तह निर्वाचनका लागि देशभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र छन् ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया