सरकारी स्कुल २ दिन , निजी १ दिन बिदा

समाधान संवाददाता २०७९ वैशाख २८ गते १०:३६

काठमाडौं l
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन गर्न असमर्थ हुने जनाएका छन् ।

सातामा २ दिन बिदा दिनाले विद्यार्थीको शिक्षण सिकाइमा नकारात्मक असर पर्ने निजी विद्यालय सञ्चालकहरूको भनाइ छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनू आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेकाले एक–दुई दिनमा निर्णय आउने जनाए ।

यसअघि दुई दिने बिदा कार्यान्वयनका सम्बन्धमा केही दिनअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा सरकारी अधिकारी, सामुदायिक विद्यालयका प्रतिनिधि, निजी क्षेत्र तथा अभिभावकबीच छलफल भएको थियो । सरकारले २ दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय गरेको छ  ।

Advertisement

स्थानीय तहको चुनावका मतदान केन्द्र तोकिएका विद्यालय ३ दिन बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मतदान केन्द्र रहेका विद्यालय २८, २९ र ३० वैशाखमा बन्द हुने छन् । मतदान केन्द्र नरहेका विद्यालय भने चुनावका दिन ३० वैशाखमा मात्र बन्द हुनेछन् ।

‘मतदान केन्द्र रहेका विद्यालयमा ३ दिन विद्यार्थी नबोलाउन निर्वाचन आयोगले भनेको छ । ती विद्यालयमा भर्चुअल रूपमा पढाउन आयोगले सिफारिस गरेको छ । आयोगको निर्णय अनुसार बुथ रहने विद्यालय ३ दिन बन्द हुन्छन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ।

Advertisement

तपाईको प्रतिक्रिया