सम्पादकिय: भयरहीत वातावरण बनाऔं
स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलले गर्ने प्रचार प्रसारको अवधी सकिएर मंगलबार राती १२ बजेदेखि मौन अवधी सकिदैछ । निर्वाचन आयोगले मौन अवधिमा पालना गर्नुपर्ने नियममा सामाजिक सञ्जाल मार्फत चुनाव प्रचारप्रसार लगायतका काम रोक लगाएको छ । भने उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजमा पोस्ट स्पन्सर गर्न पाउदैनन् । मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा पोस्ट स्पन्सर नगर्न, भएको भए हटाउन र त्यस्ता पेजमा भएको निर्वाचन आचारसंहिता विपरीतका चित्र, पोस्ट मेटाउन र नयाँ पोस्ट गर्न पाइने छैन ।
सार्वजनिक रुपमा सभा जुलुस प्रचार प्रसार मत माग्न नपाएपनि मौन अवधीमा राजनीतिक दलबाट आन्तरिक रणनीति बनाउन केन्द्रीत हुने मात्र नभएर भोज भतेर मतदाता किनबेचसम्मका गतिविधि हुन सक्ने भएकोले निर्वाचन आयोग, प्रहरी प्रशासन झन बढी चनाखो हुनु आवश्यक छ । निर्वाचनका सबै सरोकारवालाहरुले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी र भयरहित बनाउन ध्यान दिनु पर्ने भएकोले अवाञ्छित क्रियाकलाप रोक्न सक्रियता पूर्वक लाग्नु पर्छ । तबमात्र जनताले चाहेको व्यक्ति निर्वाचित हुन सक्छ ।
लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त समेत हो । २०६२÷०६३ सालमा भएको ऐतिहासिक जन आन्दोलन पश्चात नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको छ । संविधानसभा मार्फत् बनेको नेपालको संविधानमा व्यवस्था भए अनुसारको ३ तहको सरकारमध्ये जनताको नजिकमा रहेको स्थानीय तह हो । जनताको नजिकको तथा जनताको हरेक गतिविधिमा साथ दिने स्थानीय तह भएकोले यो निर्वाचनलाई महत्व र चासोका साथ हेरिएको छ ।
स्थानीय तहका प्रतिनिधिले पहिलो कार्यकाल पुरा गरेपछि मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ । निर्वाचन मार्फत जनताले दिएको अमुल्य मत नै मुलुक दिगो विकास, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको आधार बन्न सक्छ । त्यसैले सबै मतदाताले कसैको दबाव र प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन पाउनु पर्छ । सबै मतदाताले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्न पाउनु पर्छ ।
निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्व निर्वाचन आयोग, सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ संस्था एवं आमसञ्चार माध्यम समेतको हो । राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनु पर्छ । जति बढी, स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ, त्यति नै बढी लोकतन्त्रलाई सुदृढ गराउन सहयोग पुग्छ । सुशासन प्रवद्र्धन र पारदर्शिता कायम राख्न मद्दत पुग्छ ।
तपाईको प्रतिक्रिया