भोट कहिल्यै खेर जाँदैन

समाधान संवाददाता २०७९ वैशाख २८ गते १८:२३

सचिन गिरी l

हरेक चुनावमा जब तपाईँ कुनै एउटा सक्षम तर नयाँ, स्वतन्त्र, वा सानो दलको उम्मेदवारलाई भोट दिने विषयमा चर्चा गरिरहनु हुन्छ, तब आउने एक अपरिहार्य अवधारणा हो यो- “भोट खेर जाने” । कुनै एउटा मित्रले भनी हाल्छन् “त्यसलाई भोट दिएर भोट किन खेर फाल्छस्?” अनि जितको सम्भावना कम भएको कुरा मध्यनजर गर्दै तपाईँको साथीभाइ ग्याङ एउटा असल विचार सहितको, असल ठानेको सक्षम उम्मेदवारलाई भोटबाट वञ्चित गर्दै, सशक्त भनिने कुनै पुरानै ठुलो दलको नेता तिरै भोट टक्र्याउँछ । तर के साँच्चै नै भोट खेर जान्छ त? ‘खेर जानु ‘ को अर्थ लाग्छ कुनै चिजको महत्त्व नहुनु । के साँच्चै नै तपाईँले भोट हालेको उम्मेदवारले नजितेमा त्यो भोट महत्त्वहीन हुन्छ ?

यसको उत्तर नकारात्मक छ । किनकि एउटा भोटको महत्त्व भनेको, कुनै उम्मेदवारलाई जिताउनको लागि मात्रै होइन, जनताको आवाज हुनलाई पनि हो | तपाइले दिने हरेक एक भोटले केही न केही बोल्छ | कुनै उम्मेदवारलाई  तपाइले भोट दिनुको अर्थ तपाइको विचार र भावना पनि त्यसै उम्मेदवारको जस्तै छ भन्नु न हो | तपाइले भोट दिएको व्यक्ति राम्रो हुँदाहुँदै अल्पमत मै परेछ भने पनि तपाइको भोटले सारा गाउँ, नगर, वडालाई यस्ता विचार र भावना भएका व्यक्ति अरू नि रहेछन् है भन्ने सन्देश दिन्छ | अरू उस्तै खालका मान्छेहरूलाई ‘केही गर्न सकिन्छ’ भन्ने सन्देश दिई राजनीतिमा सक्रिय हुन प्रोत्साहन गर्छ, वा त्यही उम्मेदवारलाई अर्को पटकका लागि थप आत्मबल दिन्छ l

Advertisement

तपाईँ जस्तै अरू भोटरहरूलाई पनि ‘खेर जाने’ डरबाट मुक्त भई अर्को पटक आफूले चाहेकै उम्मेदवारलाई भोट गर्न प्रेरित गर्छ l र सबै भन्दा महत्त्वपूर्ण, पदमै भई रहेका व्यक्तिहरूलाई पनि जनताले राम्रो नराम्रो काम बुझ्ने भएका छन् र त्यसैको आधारमा भोट दिन सुरु गरेका छन् भन्ने सन्देश दिई हेल चर्काई नगरी राम्रोसँग काम गर्न बाध्य बनाउँछ | परिवर्तन, यसरी नै पाइला पाइला गरेर बिस्तारै हुने त हो l एकै झट्कामा जादु भएर त हुँदैन !

वास्तवमा, हामीले बुझ्नु पर्ने कुरा, ‘भोट खेर जान्छ’ भन्ने सोच, शक्तिशाली उम्मेदवारहरूले आफ्ना एजेन्डा र पहिलेका कामहरू कमजोर हुँदा पनि पटक पटक आफूहरूले नै जिती राख्न बनाएको मेनुपुलेसन टेकनिक हो l ‘ भोट खेर जान्छ” भन्ने अवधारणा तपाईँले कहीँ कोहीबाटै सुनेर पट्याउनु भएको होइन र? अक्सर यस्तो पनि हुने गर्छ कि, धेरै मानिसहरू ‘भोट खेर जान्छ’ भन्ने डरबाट त्रसित गराइएकै कारण आफूले सही ठानेको उम्मेदवारलाई भोट गर्दैनन्, र उनीहरूले भोट नगरेकै कारण ती उम्मेदवार हार्न पुग्छ l असल नै हुँदा पनि जनताको साथ नपाएको भन्ने ठानी परिवर्तनको लागि लागिपरेका यस्ता उम्मेदवार पनि निरुत्साहन हुन्छन् । यस अर्थमा, तपाईँको भोटले झुटो बोल्छ, र त्यसको परिणाम राजनीति सङ्लो हुन थप मुस्किल हुन पुग्छ ।

Advertisement

हामीले चुनावमा कसले जित्न सक्ने सम्भावना छ भन्ने हेरेर होइन, कसले राम्रो काम गर्न सक्ने सम्भावना छ भन्ने हेरेर भोट दिन जरुरी छ | तपाईँको भोट तपाइको आवाज हो l आफ्नो भोटद्वारा तपाईँले के बोल्नुहुन्छ त्यसको महत्त्व निःसन्देह नै हुन्छ ।  यथार्थमा, सच्चै नै खेर जाने भोट त त्यो हो, जुन तपाईँ आफ्नो बिचार र भावनाहरूलाई लत्त्याएर, कसैको जित र हार हेरेर गर्नुहुन्छ l

तपाईको प्रतिक्रिया