स्कुलको सट्टा अन्यत्र मतदान केन्द्र राख्न माग

समाधान संवाददाता २०७९ वैशाख २९ गते १३:०१

पोखरा l
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विद्यालय शान्ति क्षेत्र भएकाले निर्वाचन आयोगले निर्वाचनमा मतदान केन्द्र राख्ने कुराको अब विकल्प सोच्नुपर्ने प्रस्ताव गरेको छ । सिजपले विद्यालय शान्ति क्षेत्र हो भन्ने मान्यतालाई आयोगले पनि व्यवहारमा लागु गर्न माग गरेको अध्यक्ष राजेश शर्माले जानकारी दिए । २१ हजार ९ सय ५५ मतदान केन्द्रमध्ये अधिकांश मतदान केन्द्र विद्यालयमा छन् ।

विद्यालयलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्नका लागि निर्वाचन आयोगको आग्रहमा नेपाल सरकारले वैशाख २८, २९ र ३० गते विद्यालय बन्द गरेको छ । उनले ३ दिन बन्द भएका विद्यालय र अवरोध भएको पठनपाठनलाई कसरी पूर्ति गर्ने वैकल्पिक उपायको निर्णय विना विद्यालय बन्द गरिएको दाबी गरे ।

मतदान केन्द्र राख्दा विद्यालय बन्दमात्र नभएर विगतका निर्वाचनको अनुभव हेर्दा मतदानपछि पनि पढाइमा अवरोध हुने गरेको उल्लेख गर्दै सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा मतदान सकिएपछि पनि विद्यालयको पठनपाठन अवरोध नआओस् भन्नका लागि मतदान अधिकृत, कर्मचारी प्रशासन लगायत सबैलाई निर्वाचन आयोगले आग्रह गर्नुपर्ने माग गरिएको छ । ‘विगतका वर्षमा जस्तै मतदान केन्द्र राख्न विद्यालयको विकल्प छैन भन्न अब मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दललाई विद्यालयमा दलगत कार्यक्रम नगर्न आग्रह गरेको निर्वाचन आयोगले समेत मतदान केन्द्र राख्ने कुराको अब विकल्प सोच्नु पर्छ ।’

Advertisement

अध्यक्ष शर्माले बालमैत्री र भयरहित वातावरणमा अध्ययन गर्न पाउनु बालबालिकाको अधिकार भएको बताए । विद्यमान कानुनले विद्यालयलाई भयरहित वातावरणमा सञ्चालन गरेको जानकारी दिँदै उनले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्यढाँचा र निर्देशिका २०६८ अनुसार विद्यालयमा शैक्षिक बाहेकका गतिविधि गर्न नमिल्ने तर्क गरे । राजनीतिक दलले विगतका वर्षमा नै बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै अध्यक्ष शर्माले सोही अनुसारको कानुन निर्माणसमेत भएको जनाएका छन् ।

विद्यालयमा मतदान केन्द्र राख्दा भवन क्षति हुनेदेखि फर्निचर टुटफुट हुने उल्लेख गर्दै विज्ञप्तिमा विगतको निर्वाचनमा फोहर, मैलाको व्यवस्थापन नहुने, किला काँटीहरु यत्रतत्र छाडिँदा बालबालिका घाइते भएको स्मरण गराइएको छ । अध्यक्ष शर्माले विगतका निर्वाचनमा विद्यालय खुलेको दिनमा बालबालिकाले निर्वाचन सामग्रीको व्यवस्थापन गर्नु परेको दाबी गर्दै निर्वाचन आयोगलाई यस्ता घटना नदोहोरिनका लागि बेलैमा उचित कदम चाल्न अपिल गरे । उनले मतदानमा खटिएका अधिकृतले जस्तो अवस्थामा विद्यालय प्रयोग गरेका थिए, त्यस्तै अवस्थामा हस्तान्तरण गर्न माग गरे । त्यस्तो भए÷नभएको अनुगमन गरी सत्य, तथ्य बाहिर ल्याउन र बालबालिकाको भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने अधिकारको सम्मान गर्न सञ्चार माध्यम लगायत सबैमा आग्रह गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया