निवेदन दिएको १५ दिनभित्रै परीक्षा

समाधान संवाददाता २०७९ वैशाख २९ गते १६:२२

काठमाडौं l
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुलाउने तयारी गरेको छ । विभिन्न प्राविधिक सुधार गर्दै पुनः आवेदन खुलाउन लागेको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए ।

Advertisement

‘प्राविधिक सुधार गर्दै हामीले अनलाइन आवेदन सुरू गर्न लागेका हौं । चुनाव र अन्य विभिन्न कारण अलिकति समय पर सरेको छ । तर हामी जेठको पहिलो हप्ताबाट नै अनलाइन आवेदन खुलाउने प्रयासमा छौं,’ उनले भने । प्राविधिक तयारी अझैँ बाँकी रहेका कारण ठ्याक्कै यति गतेबाट सुरु गर्ने निर्णय नभइसके पनि जेठको पहिलो हप्ताभित्र नै अनलाइन आवेदन खुलाउने तयारी भइरहेको उनले बताए ।

अबको अनलाइन व्यवस्थाले थप सहज र व्यवस्थित सेवा प्रवाह हुने उनको दाबी छ । अनलाइन आवेदन लिँदा यातायात कार्यालयहरूले एक दिनमा कति जनाको परीक्षा भ्याउन सक्छन् भन्ने उनीहरूको क्षमता अनुसार आवेदन खुलाउने पनि उनले जानकारी दिए ।

सेवाग्राहीले सो दिनको कोटा सकिएपछि थप आवेदन दिन पाउने छैनन् भने एउटामा सकिए सेवाग्राहीले अर्को कार्यालयका लागि आवेदन दिन सक्नेछन् । ‘सेवाग्राहीले अनलाइन आवेदन दिएको १५ दिनभित्र परीक्षा सकेर लाइसेन्स जारी गर्ने व्यवस्थासहित हामीले नयाँ प्रणाली ल्याउन लागेका हौं,’ उनले भने, ‘एक व्यक्तिले एकभन्दा धेरै स्थानबाट आवेदन दिन पनि सक्ने छैन । यसले गर्दा चाप कम हुनेछ ।’

आवेदन प्रक्रिया सम्पन्न गर्न राजस्व अनिवार्य भुक्तानी गर्नुपर्नेछ । अनलाइन राजस्व भुक्तानी भएपछि मात्र अफिस टाइम प्राप्त हुने व्यवस्थामा काम भइरहेको उनले भने । ‘यसले गर्दा अनावश्यक मान्छेहरूले आवेदन दिएर डेट रोकेर राख्ने सम्भावना कम हुन्छ र वास्तविक सेवाग्राहीका लागि सहजता हुनेछ,’ उनले बताए ।

Advertisement

‘अनलाइनबाट आवेदन दिनेको संख्या अत्याधिक रुपमा बढेको, तर परीक्षा दिन आउनेको संख्या कम भएपछि वास्तविक सेवाग्राही मर्कामा परेको पायौं,’ उनले भने, ‘साथै एकै व्यक्तिले धेरै ठाउँबाट आवेदन दिने गरेको र केही सेवाग्राहीको अफिस भिजिट समय नै २ वर्षपछाडि पुग्यो । यही समस्यालाई सम्बोधन गर्दै विभागले अनलाइन आवेदन बन्द गरेर पहिले आवेदन आएकाहरूको परीक्षा सम्पन्न गर्ने काम गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया