कतारले दियो नेपाललाई अक्सिजन ट्यांकर

काठमाडौं l
कतार सरकारले नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ । कतार सरकारको तर्फबाट नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ट्यांकर हस्तान्तरण गरेका हुन् ।
अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैयाँको हो । कतार फन्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै राजदूत अल–हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।
उनले कतार सरकार कोरोना महामरीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताए । ट्यांकर हस्तान्तरणका कागजात बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगकोमा धन्यवाद दिएका थिए ।
उनले कतार सरकारले नेपाली नागरिकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्री उपलब्ध गराएर गरेको सहयोगलाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको जनाए । अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा अस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि सुरू भइसकेको सचिव पोखरेलले जानकारी दिएका छन् ।
नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउने क्रममा कतार फन्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगो विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ सधैँ रहने वाचा गरे । कतार फन्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसँग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।
तपाईको प्रतिक्रिया