मुस्ताङमा ७२ दशमलव ०७ प्रतिशत मतदान

सुन्दरकुमार थकाली २०७९ वैशाख ३० गते १८:२८

जोमसोम–
हिमाली जिल्ला मुस्ताङमा शान्तिपूर्ण वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाका ५ वटै पालिकाका ३८ वटै मतदान केन्द्रहरुमा मतपेटिका बाकस मुचुल्का उठाउने काम भईरहेको जनाईएको छ ।
मुस्ताङको ५ स्थानीय तहमा कुल मतदाता संख्या १०४८५ मध्ये ७२ दशमलव ०७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए ।उनका अनुसार लोमान्थाङ गाउँपालिकाको ७ मतदान केन्द्रमा १९४८ मतदाता रहेकोमा ६३ दशमलव १९ प्रतिशत,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ९ मतदान केन्द्रमा १४६२ मतदाता रहेकोमा ६६ दशमलव ६६ प्रतिशत,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ९ मतदान केन्द्रमा २२४४ मतदाता रहेकोमा ६७ दशमलव २० प्रतिशत,घरपझोङ गाउँपालिकाको ५ मतदान केन्द्रमा २०८४ मतदाता रहेकोमा ७६ दशमलव ६८ प्रतिशत र थासाङ गाउँपालिकाको ८ मतदान केन्द्रमा २७४७ मतदाता रहेकोमा त्यहाँ ८१ दशमलव ५४ प्रतिशत मतदान भएको हो ।

Advertisement

स्थानीय तह निर्वाचन अन्तर्गत सबै भन्दा बढी मततदाता रहेको थासाङ गाउँपालिकामा सबै भन्दा बढी प्रतिशत मतदान भएको हो ।उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका बढी मतदाता रहेको लोमान्थाङ गाउँपालिकामा सबै भन्दा कम प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ ।लोघेकर दामोदरकुण्ड भन्दा लोमान्थाङमा ३ दशमलव ४७ प्रतिशत कम मत खसेको हो ।
स्थानीय तह निर्वाचन अन्तर्गत मुस्ताङका ५ वटै तहमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाको ३८ वटै मतदान केन्द्रमा सकिएको हो । अहिले मतपेटिका बाकसलाई मुचुल्का उठाउने र सम्वन्धित स्थानीय तहको निर्वाचन कार्यालयमा ल्याउने काम भईरहेको छ ।जिल्ला निर्वाचन कार्यालयले सम्वन्धित स्थानीय तहमा मतपेटिका आईसकेपछि राजनितिक दलको सहमतीमा मतगणना कार्य सञ्चालन गरिने बताईएको छ ।
मुस्ताङको ५ स्थानीय तहमा १३५ पदका लागि मतदान हुनुपर्ने लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ९ वटा वडामा दलित सदस्यको उम्मेदवारी नभएकाले निर्वाचन हुन नसकेको हो । यस्तै,लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको ६ वटा वडामा यसअघिनै ३० पद निर्विरोध भईसकेको थियो । जिल्लाको ५ स्थानीय तहमा ९५ पदका लागि आज स्थानीय तह निर्वाचन सम्पन्न भएको हो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया