भोट हालेर खर्कतिर मनाङी

राष्ट्रिय समाचार समिति (रासस) २०७९ जेठ २ गते ११:४७

मनाङ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका ४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ ।

यहाँका ४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङी यार्सागुम्बा टिप्न उकालो लागेका छन् ।

उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदानकार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरु आइतबारदेखि नै यार्सागुम्बा संकलनमा आफुलाई व्यस्त बनाएका छन् । मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरुको मुख्य आयस्रोत जङ्गली औषधीजन्य जडिबुटी यार्सागुम्बा नै हो । उनीहरु जडिबुटी सङ्कलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् ।

Advertisement

‘स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौं,’ चामे गाउँपालिका ४ जगबहादुर गुरुङले भने । उनले मनाङको विकासको लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदानकार्य सकेर पुनःखर्कतर्फ फर्किएको बताए ।

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताए । । ‘समयमा नै यार्सागुम्बा संकलन गर्न सकिएन भने पछि हराउँछ, त्यही भएर आजभोलि खर्कतर्फ छिटो फर्किन लागेका छौं’, उनले भने ।

Advertisement

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत बैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि उनीहरु खर्कतर्फ मतदान सकिएको भोलिपल्टै खर्क उक्लिएको स्थानीय बताउँछन् ।

विशेषगरी यो मौसम यार्सागुम्बा संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रुपमा लिइन्छ । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पुर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो ।

यार्सागुम्बा संकलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङी यार्सागुम्बा सङ्कलन गर्न खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ ।

यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए । यार्सागुम्बा संकलनकार्य नाम्केखर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले बताए । असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । बैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् ।

यार्सागुम्बा संकलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताए । । यार्सागुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको छ ।

यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये १ वटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक र खरिद गर्न आउने व्यक्तिहरुले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ ।

यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ । गत २ वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद विक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको जनाइएको छ । यस वर्ष भने सहजरुपमा जडीबुटी संकलन हुने भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया