जेठ ५ मा सिर्जना विकास केन्द्रको आकस्मिक रक्तदान
पोखरा, ३ जेठ
पोखरामा यतिखेर रगतको अभाव भएको छ । देश स्थानीय तह चुनावमा होमिदा नियमित रक्तदान कार्यक्रम नभएकोले रगत अभाव भएको हो ।
रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले गत वैशाख २६ देखि पोखरा क्षेत्रमा नियमित रक्तदान कार्यक्रम नभएकोले रगत अभाव हुन गएको जनाए । उनका अनुसार पोखरामा दैनिक ५० पोका रगतको माग हुने गर्दछ । रक्तसञ्चार केन्द्रमा मौज्दात रहने रगतको परिणामसमेत घट्दै गएकोले आकस्मिक रक्तदान गर्नुपर्ने अवस्था आएको ज्ञवालीको भनाइ छ ।
यसैबीच, सिर्जना विकास केन्द्र, पोखरा–८, सिमलचौरले रगतको मागलाई ध्यानमा राख्दै जेठ ५ गते आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।
पोखराको सहिदचोकमा बिहान साढे ७ बजे हुने सो कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एवं सर्वसाधारणमा आग्रह गरेको छ ।
रगत अभाव पूर्ति गर्न गणतन्त्र दिवसकै सन्दर्भमा सिर्जना विकास केन्द्रले सो कार्यक्रम गर्न लागेको रक्तदान अभियन्तासमेत रहेका संस्थाका उपाध्यक्ष कृष्ण थापाले जनाए । सहिदचोकमा यतिखेर मतगणनाको नतिजा सुन्न सर्वसाधारणको ठूलो भीड लाग्ने भएकोले रक्तदाता बढी हुने अपेक्षा आयोजकको छ ।
संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले लामो समयदेखि सामाजिक सेवामा सक्रिय सिर्जना विकास केन्द्रले मानवीय संवेदनासँग जोडिएको रक्तदान कार्यक्रम गर्न लागेकोले सहभागी हुन सम्पूर्णमा आग्रह गरे ।
यसैबीच, स्वयंसेवी रक्तदाताको आयोजनामा बुधबार बिहान पोखराको महेन्द्रपुलमा समेत आकस्मिक रक्तदान हुँदैछ ।
तपाईको प्रतिक्रिया