पोखराका ६ वडामा कस्को कति ?

समाधान संवाददाता २०७९ जेठ ५ गते १२:३४

पोखरा ।
बुधबार पोखराका ६ वडाको मत मरिणाम सार्वजनिक भएको छ । तीमध्ये ४ वडामा कांग्रेस र २ वडामा एमालेले वडाध्यक्ष जितेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका विष्णुप्रसाद बराल अध्यक्ष निर्वाचित भए । विष्णुले १ हजार ९ सय ७२ मत ल्याएर पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत पाए । वडा सदस्यमा गोविन्द्रप्रसाद शर्मा, मणिराम बराल, कल्पनाकुमारी थापा र हरिमाया विश्वकर्मा निर्वाचित भए ।

पोखरा ६ मा एमालेका विष्णुप्रसाद भट्टराई अध्यक्ष निर्वाचित भएका छन् । भट्टराईले १ हजार ६ सय ६ मत पाए । उनका प्रतिस्पर्धी निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेसका जगतबहादुर पहारीले १ हजार ४ सय ३९ मतमा चित्त बुझाए । वडामा पवित्र थापा, दीपेन्द्र पहारी, शोभा जलारी र वासुदेव बराल सदस्य चुनिएका छन् ।

वडा नम्बर १३ मा कांग्रेसका किरण बरालले अध्यक्ष जितेका छन् । उनले एमालेका वसन्तराज बराललाई पराजित गरेका हुन् । किरणले २ हजार ९ सय ४० पाउँदा वसन्तले २ हजार २ सय ३४ मत ल्याए । यहाँ कांग्रेसको प्यानल नै विजयी भएको हो । बलबहादुर बराल, शरिफ अली मियाँ, सुचित तामाङ र रजनी परियार सदस्य चुनिए ।

Advertisement

वडा नम्बर २४ मा कांग्रेसका भरतबहादुर अधिकारी निर्वाचित भए । उनले एमालेका रामचन्द्र थापालाई पराजित गरे । कांग्रेसका अधिकारीले २ हजार १ सय ३१ मत पाउँदा एमालेका थापाले १ हजार ८ सय ४ मत ल्याएका छन् । मैयाँ नेपाली, सरस्वती त्रिपाठी, रेशम सुवेदी र कृष्णप्रसाद सुवेदी ४ सदस्य भने यहाँ एमालेले जितेको छ । पोखरा २५ मा पनि कांग्रेसका उम्मेदवार मोतिलाल तिमिल्सिना अध्यक्ष नर्वाचित भएका छन् । उनले एमालेका तीर्थ थापालाई पराजित गरेका हुन् । मोतिलालले २ हजार २ सय ६६ र तीर्थले २ हजार २ सय १३ मत पाएका छन् ।

पोखरा २६ मा कांग्रेसको प्यानलै आएको छ । नरेन्द्र थापा २ हजार ७ सय ६५ मतसहित अध्यक्ष चुनिएका छन् । एमालेबाट उम्मेदवारी दिएका सूर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मतमात्र पाए । यहाँ लक्ष्मीदेवी भट्टराई, सुजाता बराल, तीर्थबहादुर रानाभाट र सुदीपराज ढुंगाना सदस्यमा विजयी बने ।

Advertisement

यसअघि नै पोखराका वडा नम्बर १, २, ३, ४, १२ र २३ को मत परिणाम सार्वजनिक भइसकेको छ ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका आचार्यले नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापासँग बुधबार राति १० बजेसम्म २ हजार ३२ मतान्तर बनाएका छन् । आचार्यले १७ हजार २ सय ४२ मत प्राप्त गर्दा एमालेका थापाले १५ हजार २ सय १० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । उनले १७ हजार ४ सय ४३ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १७ हजार ३ सय ४१ मत ल्याएर पछ्याइरहेकी छन् । पोखरामा १ लाख ४३ हजार २ सय २६ ले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया