स्थानीय तह

लोघेकर दामोदरकुण्डमा सर्वसम्वत कार्यपालिका निर्वाचन

समाधान संवाददाता २०७९ जेठ ५ गते १९:१८

जोमसोम–

हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा गाउँकार्यपालिका निर्वाचन सर्वसम्वत सम्पन्न भएको छ ।स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित ७५३ स्थानीय तह मध्ये कार्यपालिका निर्वाचन गर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका पहिलो बनेको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम कार्यपालिका सदस्यका लागि मनोनयनपत्र दर्ता गराएका ४ महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्यबाट ६ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नेपालहरी रानभाटले जानकारी दिए ।उनका अनुसार कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा ५ जना नेकपा एमालेका र १ जना नेपाली कांगे्रसका छन् ।
बुधबार कार्यपालिका सदस्यका लागि मनोनयपत्र दर्ता गराएका नेकपा एमालेबाट निर्विरोध निर्वाचित वडासदस्यहरु कर्म केसोम गुरुङ,कृष्णप्रसाद विश्वकर्मा,छिरिङ विटीक गुरुङ,जिक्मी वाङ्दी बिष्ट र पासाङ भुटी गुरुङ छन् । यस्तै,नेपाली कांग्रेसबाट कचाङ छुटेन गुरुङ निर्विरोध कार्यपालिका सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रानाभाटले बताए ।
स्थानीय तहको गाउँ कार्यपालिका सदस्यमा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र ५ वटै वडाका वडा सदस्य स्वतः कार्यपालिका सदस्य हुन पाउने व्यवस्था छ । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको सदस्य सचिव रहन्छन् ।लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेको बहुमत सदस्य रहेपनि नेपाली कांगेसका १ जना सदस्यलाई कार्यपालिकामा समावेश गरिएको हो ।
स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले मंगलबार मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवाली समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेसंगै पालिका अध्यक्ष बिष्टले बुधबार निर्वाचित गाउसभाका २३ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।यस्तै,बिहिबार कार्यपालिका सदस्यहरुले समेत पदभार ग्रहण गरेका छन् । लोघेकर दामोदरकुण्डमा दलित सदस्य नहुँदा ४ वटा वडामा दलित सदस्य पद रिक्त रहेको थियो ।
यस्तै स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र ५ वटै वडाका वडाध्यक्षहरुले पदभार ग्रहण गरेको निर्वाचित गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले भौगोलिक रुपले विकट लोघेकर दामोदरकुण्ड गाउँपालिकाको आर्थिक समृद्धि र विकासका लागि आफ्नो टिमले काम गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया