गण्डकीभर ३ पालिकामा महिला प्रमुख निर्वाचित

प्रमिला कुँवर २०७९ जेठ ६ गते १०:४०

पोखरा ।
गण्डकी प्रदेशका पालिकाको मतगणना उत्तराद्र्धमा छ । प्रदेशमा ८५ पालिका छन् । तीमध्ये जम्मा १५ पालिकामा मात्र प्रमुखमा महिलाको उम्मेदवारी परेको थियो । तर ३ मात्र पालिकामा महिला प्रमुखमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हुप्सेकोट गाउँपालिका नवलपुरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे अध्यक्ष निर्वाचित भएकी छन् । गत स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएर एक कार्यकाल सम्हालेकी पाण्डे उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतबहादुर रानालाई पराजित गर्दै चुनिएकी हुन् ।

पाण्डेले ६ हजार ५ सय ५५ मत प्राप्त गरी विजयी हुँदा रानाले ५ हजार ७ सय ४१ मत पाए । पाण्डे जिल्लाकै एकमात्र पालिका प्रमुख महिला उम्मेदवार हुन् । पालिकामा मतदाता संख्या १९ हजार १ सय ६ छ । जसमा ९ हजार १ सय ६६ पुरुष र ९ हजार ९ सय ४० महिला छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

Advertisement

रुपा गाउँपालिका कास्कीमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी गीमाया गुरुङ पराजित भएकी छन् । उनलाई नेकपा एमालेका नवराज ओझाले पराजित गरेका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत ल्याएका छन् भने गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी थिइन् । ओझा ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए ।

गत निर्वाचनमा गुरुङले उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् । त्यो बेला नेकपा एमालेकी लालसुबा गुरुङ ५ सय ३९ मतान्तरले उपाध्यक्षमा विजयी भएकी थिइन् । लालसुबा गुरुङ अहिले पनि उपाध्यक्षमा निर्वाचित भएकी छन् । पालिकामा कुल मतदाता संख्या १४ हजार ६ सय ७५ छ । जसमा ७ हजार २ सय १२ पुरुष र ७ हजार ४ सय ६२ महिला छन् । यस गाउँपालिकामा ७ वडा छन् ।

Advertisement

मोदी गाउँपालिका पर्वतमा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा ६ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर ठकुरीलाई १ हजार ३ सय ३९ मतान्तरले पराजित गरेकी हुन् । पराजित ठकुरीले ४ हजार ६ सय ८० मत ल्याएका छन् । पालिकामा कुल मतदाता संख्या १९ हजार ६ सय ७ छ । जसमा ९ हजार ६ सय २ पुरुष र १० हजार ५ महिला छन् । यस गाउँपालिकामा ८ वडा छन् ।

बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एकमात्रै महिला पालिका प्रमुखमा चुनिएकी हुन् । थापाले ७ हजार २ सय ७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले ५ हजार ७ सय मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाका प्रतिस्पर्धी थिइन् । ५ सय ९२ मतले मेहरसिंह पाइजासँग पराजय भएकी थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी बनेकी हुन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन चुनिएका छन् ।

यो निर्वाचनमा हरिमाया तिमिल्सिनाले नेकपा माओवादी केन्द्रबाट कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । अन्नपूर्णमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । नेकपा एमालेका उम्मेदवार विष्णुबहादुर केसी ५ हजार ५ सय ५१ मतसहित अध्यक्षमा विजयी भएका छन् । तिमिल्सिनाले ४ सय ८० मतमात्र ल्याएकी छन् । पालिकामा कुल मतदाता संख्या १२ हजार २९ छ । जसमा १० हजार ३६ पुरुष र १० हजार ३ सय ११ महिला छन् । यस गाउँपालिकामा ११ वडा छन् ।

पुतलीबजार नगरपालिका स्याङ्जामा नेकपा एमालेकी उम्मेदवार सीमाकुमारी क्षेत्री उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मीसित पराजित भएकी छन् । पराजित क्षेत्रीले १० हजार ९० मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याइ विजयी भएका हुन् । पालिकामा कुल मतदाता संख्या ३७ हजार ७ सय ८ रहेको छ । जसमा १८ हजार २ सय ९० पुरुष र १९ हजार ४ सय १८ महिला रहेका छन् । यस नगरपालिकामा १४ वडा छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी माया राना नेकपा एमालेका खिमबहादुर थापासँग हारेकी छन् । यसअघि पनि अध्यक्ष पदमै ५ वर्ष काम गरेका थापा रानालाई १ हजार ६ सय ४५ मतान्तरको फरक पार्दै विजयी घोषित भएका हुन् । पालिकामा कुल मतदाता संख्या १७ हजार ९ सय ३८ छ । जसमा ८ हजार ६ सय ३० पुरुष र ९ हजार ३ सय ८ महिला छन् । यस गाउँपालिकामा ७ वडा छन् ।

अर्जुनचौपारी गाउँपालिका स्याङ्जामा एमालेबाट उम्मेदवारी दिएकी चीनमाया गुरुङलाई कांग्रेसका प्रकाश तिवारीले पराजित गरेका छन् । तिवारीले ५ हजार २ सय ९१ मत प्राप्त गर्दा गुरुङले ३ हजार ३ सय ४७ मत प्राप्त गरेकी छन् । गुरुङ गत निर्वाचनमा पालिका उपाध्यक्षमा विजयी भएकी थिइन् । पालिकामा मतदाता संख्या १३ हजार ८ सय ६७ छ । जसमा ६ हजार ९ सय ४९ पुरुष र ६ हजार ९ सय १८ महिला छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

भीरकोट नगरपालिका स्याङ्जामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी रेखा बस्याल पराजित भएकी छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच चर्को प्रतिस्पर्धा हँुदा माओवादी केन्द्र तेस्रो नम्बरमा थियो । पालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्माचार्य ६ हजार ५ सय २८ मत प्राप्त गरी विजयी भएका छन् । पालिकामा कुल मतदाता संख्या २० हजार ४ सय २७ छ । जसमा ९ हजार ८ सय ६ पुरुष र १० हजार ६ सय २१ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।

तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा कांग्रेसबाट मायादेवी राना आलेले उम्मेदवारी दिएकी थिइन् । उनी नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठसंग ७ सय १८ मतान्तरले पराजति भएकी हुन् । श्रेष्ठले ४ हजार ९ सय ५० मत ल्याई विजयी भएका हुन् । मायादेवीले ४ हजार २ सय ३२ मत ल्याएकी छन् । पालिकामा मतदाता संख्या १८ हजार १ सय ५ छ । जसमा ८ हजार ५ सय ७९ पुरुष र ९ हजार ५ सय २६ महिला छन् । यस गाउँपालिकामा ७ वडा छन् ।

गाेरखा नगरपालिका गोरखामा एमालेबाट उम्मेदवारी दिएकी सम्झना देवकोटा माओवादी केन्द्रका कृष्णबहादुर रानासित पराजित भएकी छन् । १ हजार ८ सय ५६ मतान्तरसहित राना विजयी बने । पालिकामा मतदाता संख्या ३५ हजार ३१ छ । जसमा १६ हजार ८ सय ८ पुरुष र १८ हजार २ सय २३ महिला छन् । यस पालिकामा १४ वडा छन् ।

म्याग्दीको धौलागिरी गाउँपालिकामा एमालेबाट थम्सरा पुन चुनावी मैदानान उत्रेकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसका पे्रमप्रसाद पुन विजयी भएका छन् । यो पालिकामा मतदाता संख्या १० हजार ९ सय ४० छ । जसमा ५ हजार ३ सय ५६ पुरुष र ५ हजार ५ सय ८४ महिला छन् । यहाँ ७ वडा छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी मीना विक हारेकी छन् । विक माओवादी केन्द्रकी उम्मेदवार हुन् । नेपाली कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका छन् । पालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा छ । यो पालिकामा कुल मतदाता संख्या १३ हजार ९ सय ४७ छ । जसमा ६ हजार ६ सय ८३ पुरुष र ७ हजार २ सय ६४ महिला छन् । यस गाउँपालिकामा ८ वडा छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेपाली कांग्रेसले छिरिङ ओङमा घलेलाई अध्यक्ष पदमा उठाएको थियो । नेकपा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका छन् । छिरिङ ओङमा घलेले ७ सय १३ मत ल्याएकी छन् । पालिकामा मतदाता संख्या ३ हजार ५ सय ३५ छ । जसमा १ हजार ७ सय ५० पुरुष र १ हजार ७ सय ८५ महिला छन् । यहाँ ९ वडा छन् ।

मुस्ताङको थासाङ गाउँपालिकामा नेपाली कांग्रेसले बालकुमारी शेरचनलाई अगाडि सारेको थियो । प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप गौचनले बालकुमारीलाई झिनो मतले पराजित गरेका छन् । उनले १ हजार ५५ मत प्राप्त गरी हार्दा एमालेका गौचनले १ हजार १ सय १४ मत प्राप्त गरी विजयी बने । पालिकामा मतदाता संख्या २ हजार ७ सय ४७ छ । जसमा १ हजार ३ सय ८० पुरुष र १ हजार ३ सय ६६ महिला रहेका छन् । यस पालिकामा ५ वडा छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया