गोरखामा माओवादीको प्रभुत्व

अघिल्लो पटक २ पालिका जितेको माओवादीले जिल्ला एक्लै यस पटक ८ पालिका जितेको छ

समाधान संवाददाता २०७९ जेठ ६ गते ११:३२

गाेरखा ।
अघिल्लो स्थानीय तहमा रक्षात्मक अवस्थामा देखिएको माओवादी केन्द्रले गोरखामा यसपालिका प्रभुत्व कायम गरेको छ । कांग्रेस र आफैंबाट विभाजित नयाँ शक्तिका कारण त्यो बेला माओवादी खुम्चिएको थियो ।

देशका विभिन्न स्थानीय तहमा गठबन्धन गरेर उम्मेदवारी दिएको माओवादी यसपालि गोरखामा भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । यहाँ माओवादीले २०६४ सालकै हाराहारीमा नतिजा निकालेको छ । जिल्लाका ११ पालिकामध्ये १० पालिकाको नतिजा आइसकेको छ । तीमध्ये ८ पालिकामा माओवादी केन्द्र विजयी भएको छ भने गणना जारी रहेको १ पालिकामा पनि उसकै अग्रता छ । यहाँका २ पालिकामा कांग्रेस विजयी भएको छ ।

अघिल्लोस्थानीय तहको चुनावमा २ पालिकामा खुम्चिएको माओवादीको आयतन यो पटक भने तन्किएर ९ पालिकामा पुगेको हो । अघिल्लो चुनावमा कांग्रेसले जितेका ७ पालिका माओवादीले खोसेको हो । अघिल्लो पटक कांग्रेसले जितेको धार्चे गाउँपालिकाको प्रमुखमा त यो पटक माओवादीले झण्डै दोब्बर मतान्तरले चुनाव जितेको छ । ३ हजार ७ सय ७१ मत ल्याएर माओवादीका लक्ष्मण गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तबहादुर गुरुङले १ हजार ९ सय ४६ मत ल्याए । उपप्रमुखमा पनि माओवादीले नै जितेको छ ।

Advertisement

अजिरकोट गाउँपालिका पनि माओवादीले कांग्रेससँग खोसेको छ । प्रमुखमा दीपक देवकोटा ३ हजार ७ सय ८७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २ सय ८९ मतमा चित्त बुझाए ।
बारपाक सुलिकोट गाउँपालिका अघिल्लो स्थानीय तहको चुनावमा पनि माओवादीले नै जितेको थियो । यो पटक पनि माओवादी केन्द्रले यहाँको विरासत जोगायो । कांग्रेसलाई पछि पार्दै ५ हजार ५ सय १९ मतका साथ माओवादीका विष्णुप्रसाद भट्ट गाउँपालिका प्रमुखमा चुनिए ।

भीमसेन थापा गाउँपालिकामा पनि माओवादी नै विजयी भएको छ । ५ हजार ६ सय ५१ मतका साथ माओवादीका लोकप्रसाद बन्जारा विजयी हुँदा कांग्रेसका रोशन गुरुङले ५ हजार १ सय ७६ मत ल्याए । यो गाउँपालिका पनि माओवादीले कांग्रेसको गढ भत्काएर जितेको हो ।

Advertisement

सदरमुकाम रहेको गोरखा नगरपालिकामा पनि माओवादीकै प्रभुत्व देखियो । अघिल्लो चुनावमा माओवादीका मेयरका उम्मेदवार कृष्णबहादुर राना कांग्रेसका उम्मेदवार राजनराज पन्तसँग पराजित भएका थिए । अहिले रानाले पन्तसँग अघिल्लो हारको बदला लिए । पन्तलाई १ हजार ८ सय ५६ मतान्तरले हराउँदै राना विजयी भए । रानाले ८ हजार ९ सय ६४ मत ल्याउँदा पन्तले ७ हजार १ सय ८ मत पाए ।

पालुङटार नगरपालिकामा पनि माओवादी विजयी भएको छ । माओवादीका विवस चिन्तन ६ हजार ७२ मतका साथ मेयर चुनिए । उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत पाए । यसअघि कांग्रेसले जितेको यो पालिका जसपा नेता डा बाबुराम भट्टराईको गृह पालिका हो । यहाँ एमाले र जसपा गठबन्धन थियो ।

सहिद लखन गाउँपालिका यसअघि पनि माओवादीले नै जितेको गाउँपालिका हो । यो पटक पनि माओवादीले १ हजारभन्दा बढी मतान्तरले जितेको छ । पहिले कांग्रेसले जितेको गण्डकी गाउँपालिका पनि माओवादीले आफ्नो पोल्टामा पारेको छ । माओवादीका दीपक तिमिल्सिना ६ हजार ३ सय २६ मत ल्याएर विजयी हुँदा कांग्रेसका होमबहादुर रानाले ४ हजार ६ सय ५५ मतमात्र पाए ।

आरुघाट गाउँपालिकामा भने माओवादी कमजोर साबित भयो । कांग्रेसका उम्मेदवार ५ हजार ५ सय ५६ मत ल्याएर विजयी हुँदा तेस्रो भएको माओवादीले ९ सय १० मतमात्रै ल्याउन सक्यो । आरुघाट यसअघि पनि कांग्रेसले नै जितेको थियो । त्यसबेला १ हजार ९ सय ५२ मत ल्याएको माओवादी झण्डै हजार मतले खुम्चिएको छ ।

सिरानचोक गाउँपालिकामा भने नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४ सय ३ मतसहित विजयी हुँदा नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत पाएका छन् । यसअघि पनि उक्त गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो । अघिल्लो स्थानीय चुनावमा कांग्रेसले जितेको चुमनुव्री गाउँपालिका अहिलेसम्मको मत गणना अनुसार माओवादी अग्रस्थानमै छ । उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

तपाईको प्रतिक्रिया